इनरुवा । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै सुनसरी बार समेत आन्दोलनमा उत्रिएको छ । 

नेपाल बार एसोसिएसन सुनसरी आजबाट आन्दोलनमा उत्रिएको हो । सोही अनुरूप सुनसरी बार सम्बद्ध कानुन व्यवसायीहरू पहिलो दिन आज १ घण्टा धर्नामा बसेका छन् । 

सुनसरी बारका अध्यक्ष शारदा प्रसाद अधिकारीको अगुवाइमा कानुन व्यवसायीहरूले कालो मास्क लगाएर १ घण्टा विरोध जनाएका छन् । सो क्रममा उनीहरू कार्यालय हातामा ११ देखि १२ बजेसम्म धर्नामा बसेका थिए ।  

सुनसरी बारले सर्वोच्च अदालत परिसरमा जारी धर्ना तथा आन्दोलनको कार्यक्रमको समर्थनमा सुनसरीमा समेत आन्दोलन थालिएको जनाएको छ । बारले एक घण्टाको दरले लगातार तीन दिन विरोध जनाउने बताएको छ ।

सुनसरी बारले पहिलो चरणको कार्यक्रम पश्चात् थप आन्दोलनका कार्यक्रममा उत्रिने जनाएको छ ।