धनकुटा । धनकुटा साँगुरीगढी गाउँपालिका ६ मुक्तेन र मझियाका पहिरोपीडितलाई गोर्खा वेल्फेयर ट्रष्टले खाद्यान्न वितरण गरेको छ । 

ट्रष्टले पहिरोपीडित २६ घरपरिवारलाई राहत वितरण गरेको हो । साँगुरीगढी गाउँपालिका ६ नम्बर वडा कार्यालयको विशेष पहलमा ट्रष्ट नेपालको उत्थानशील खानेपानी, सरसफाइ, स्वच्छता तथा आपत्कालीन पूर्वतयारी कार्यक्रमअन्तर्गत राहत दिइएको हो । ट्रष्टले दाल, चामल, तेल, ग्यास चुल्हा, साबुन जस्ता सामग्री वितरण गरेको हो । 

मझुवा र मुक्तेन गाउँमा केही वर्षदेखि लगातार पहिरो जाँदा २६ मध्ये ११ घरपरिवार विस्थापित भइसकेका छन् । कात्तिक पहिलो साता आएको बेमौसमी वर्षाका कारण उक्त बस्ती थप जोखिममा परेको छ ।

साँगुरीगढी ६ मझुवाका टीकाराम घागा मगरको घरसहित १० रोपनी वारि पहिरोले बगाइदिएपछि अहिले उनी ससुरालीको जग्गामा अस्थायी टहरा बनाई बसेका छन् । ‘कमाइ गर्ने जग्गा पहिरोले बगायो । हामी अहिले बिचिल्लीमा छौं,’ उनले भने,  ‘पहिरो गएको घरजग्गा हेर्दा मन थामिँदैन ।’ सरकारले स्थायी रूपमा स्थानान्तरणको व्यवस्था मिलाइदिन उनले अनुरोध गरे । 

Rahat Photo (1)

तस्बिरः सन्तवीर लामा 

ट्रष्ट नेपाल धरानका लेखा अधिकृत सुरेन्द्र मादेनले पहिरोले घरवारविहीन बनेका यहाँका घरपरिवारलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए ।