धरान । धरान–१५ को सागर पथ चण्डिका सडक कालोपत्रे गरिएको छ ।
असोज ३ गते शिलान्यास गरिएको ३२५ मिटर लम्बाइको सडक एक महिनाभित्रै पूरा गरी सोमबार उद्घाटन गरिएको छ । धरान–१५ का वडाध्यक्ष नरेश इवारमले सडक उद्घाटन गरे । धरान उपमहानगरले करसहित ११ लाख रुपैयाँ विनियोजन गर्दा उपभोक्ताले १५ लाख ९२ हजार ७६० रुपैयाँ लगानी गरेको उपभोक्ता समितिकी कोषाध्यक्ष नितु राईले बताइन् ।
उक्त सडकभित्र ४११ घरधुरी लाभान्वित रहेको उपभोक्ता समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बूले बताए । वडाले आर्थिक वर्ष २०७५÷०७६ मा ड्रेन निर्माणका लागि रकम विनियोजन गरेको थियो । धरान–१५ मा सागर पथजस्ता ४० वटा सडक योजना यस आर्थिक वर्षमा सम्पन्न गर्ने तयारी गरिएको छ । २ करोड ६० लाख नगरबाट विनियोजन गरेकामा १ करोड ४७ लाख रुपैयाँ पूर्वाधारमा खर्च गर्ने गरी वडाले आर्थिक विधेयक बनाइएको वडाध्यक्ष इवारमले बताए ।
कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष कुमार श्रेष्ठ, निर्माण व्यवसायी रणबहादुर थाङ्देन, बाबुराम कट्वाललगायतको उपस्थिति रहेको थियो ।