धरान । नाट्य संस्था शिल्पी थिएटरले धरानमा ‘ठूलामाछा सानामाछा’ प्रदर्शन गरेको छ ।

सोमबार साँझ धरान सभागृह प्राङ्गणमा प्रदर्शित नाटकले आम मान्छेका समस्याहरूको उठान गर्यो । नेपालमा मालपोत, यातायातदेखि कृषिसम्म फैलिएका बिचौलिया र सरकारी कर्मचारीको मिलेमतोमा सर्वसाधारण कसरी पीडित बनिरहेका छन् ?, ठेकेदार र जनप्रतिनिधिको मिलेमतोमा विकासको  गति कता गइरहेको छ ? जस्ता प्रश्नहरूको जवाफ नाटकले दिन्छ । नाटकले एम्बुलेन्स चालकदेखि अस्पतालसम्मले कसरी बिरामीका आफन्तलाई लुट्छन् भन्ने पनि यथार्थ चित्रण गरेको छ ।

सभागृह प्राङ्गणमा खुला ठाउँमै नाटक प्रदर्शन भएको थियो । जसलाई शिल्पीले ‘मुक्त रङ्गमञ्च’ भनेको छ । नेतादेखि जनप्रतिनिधि, कर्मचारी, बिचौलिया सबैलाई व्यङ्ग्य कसेको नाटक ‘ठूलामाछा सानामाछा’ हेर्न धरान उपमहानगरपालिकाका  प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी तथा विभिन्न वडाका अध्यक्ष र राजनीतिक दलका नेताहरूसमेत उपस्थित थिए ।

थिएटर सहारा र नाटकघर निर्माण उपभोक्ता समिति स्थानीय आयोजक रहेको कार्यक्रममा धरानका कलाकर्मी, साहित्यकारहरूको उपस्थिति थियो । घिमिरे युवराजको परिकल्पना तथा निर्देशन रहेको ‘ठूलामाछा सानामाछा’ मा पवित्रा खड्का, रेनुका कार्की ढोली, सविन कट्टेल, सङ्गीता उराँव, मनहाङ लावती, असिम खनाल, ज्योति पोख्रेल, रविन परियार, गोविन्द ओली, ज्याक बराल, हिमाल भुजेल र सञ्जीता थुलुङ राईले अभिनय गरेका छन् ।

नाटकले वातावरण र चरा तथा जनावरको संरक्षणमा पनि आवाज उठाएको छ । सोमबार बिहान शिल्पीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि नाटक प्रदर्शन गरेको थियो । धरानको नाटक प्रदर्शनसँगै झापा, मोरङ र सुनसरीको ‘शिल्पी नाट्य यात्रा’ पनि समापन भएको छ ।

नाटक प्रदर्शनसँगै शिल्पीले कविता प्रतियोगिताको समेत आह्वान गरेको छ । नाटक हेरेका दर्शकले आफूलाई सहज लाग्ने भाषामा कविता लेखेर २०७८ मङ्सिर ३० सम्ममा पठाउनु पर्ने र त्यसरी पठाइएका कवितामध्ये उत्कृष्ट ४ लाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने नाटकका निर्देशक घिमिरे युवराजले जानकारी दिए ।