बिर्तामोड/ साहित्य चौतारी झापाले विगतका वर्षहरुमा झैं यस वर्षको तिहारमा दक्षिणारहित सामुहिक सडक देउसी खेल्ने भएको छ ।

साहित्य चौतारीले साहित्य, कला, संगीत र संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यले २०५८ सालदेखि दक्षिणारहित सामुहिक सडक देउसी खेल्दै आएको साहित्य चौतारीका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिए ।

साहित्य चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षतामा भएको सल्लाहकार र पदाधिकारीेसहितको वैठकले बिगतमा गर्ने गरिएको दक्षिणारहित देउसीलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बिर्तामोडको मुक्तिचोकस्थित दुर्गा मन्दिर परिसरबाट नेपाली मौलिक भेषभूषा र वाजागाजा र ब्यानरसहित शुरु गरिने सडक देउसीसहितको र्यालीले बिर्तामोड नगर परिक्रमा गर्दै देउसी भट्याउने उनले बताए ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको त्रासका कारण गत वर्ष दक्षिणारहित सामुहिक सडक देउसी नखेलिएको उनले बताए ।  दक्षिणाकै लागी देउसी खेलिने परम्पराको अन्त्य गर्दै साहित्य, कला , संगीत र संस्कृतिको संरक्षण, सम्र्वद्धन गर्न सडक देउसी खेलिने उनले जनाए ।

यसपालिको दक्षिणारहित सामुहिक सडक देउसी छायाङ्कन गरी विभिन्न सञ्चारमाध्यममा प्रशारण गरिने भएकाले दक्षिणारहित सामुहिक सडक देउसीमा सहभागी हुन बिर्तामोडका सामाजिक संघसंस्था र बिर्तामोडवासीलाई उनले आग्रह गरेका छन् ।