सुनसरी । भारतको बिहार राज्यमा हुने पञ्चायत निर्वाचनका कारण सीमा सुरक्षामा कडाइ गरिएको छ । बिहार राज्यको विभिन्न जिल्लामा आज (आइतबार) हुने निर्वाचनका कारण भारतसँग सीमा जोडिएका क्षेत्रहरूमा सुरक्षा कडाइ गरिएको हो ।
सुनसरीसँग सीमा जोडिएको बिहारको सुपौल जिल्लामा आइतबार चुनाव हुँदैछ । सोही चुनावलाई लक्षित गरेर नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थामा शुक्रबार साँझबाट कडाइ गरिएको सीमा सुरक्षा बल सुनसरीले जनाएको छ ।
निर्वाचनका बखत कुनै पनि आपराधिक गतिविधि हुन नदिन ७२ घण्टासम्म दुईदेशीय सीमा नाका सील गरिँदै आएको सीमा सुरक्षा बल सुनसरीका एसपी माधवप्रसाद पौडेलले जानकारी दिए । भारतीय चुनावलाई लक्षित गरेर शुक्रबारबाट नै सीमामा आवात–जावतमा पूर्ण रूपमा रोक लगाइएको छ ।
नेपाली पक्षलाई भारतीय सुरक्षा अधिकारीले गरेको आग्रहअनुसार निर्वाचनका बेला सीमा क्षेत्रमा निगरानी बढाएर कडाइ गरिएको हो । निर्वाचनका बेला कुनै पनि आपराधिक घटना गरेर नेपालतर्फ अपराधी भाग्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै भारतीय पक्षले चुनावका बेला नेपाली पक्षको सहयोग माग्ने गरेको छ । सोही अनुसार सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती बढाएको बताइएको छ ।
‘बिहार राज्यमा पञ्चायत चुनाव भइरहेको छ । सोही निर्वाचनलाई लक्षित गरेर हामीले सीमा सिल गर्दै निगरानी बढाएका हौं’–एसपी पौडेलले भने । निर्वाचन नसकिएसम्म भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलोमिटर क्षेत्रमा नेपाली सुरक्षाकर्मीले उच्च निगरानी गरिरहेका छन् ।
सीमामा शुक्रबारबाट कसैलाई आवत–जावत गर्न दिइएको छैन भने शङ्कास्पद गतिविधि गरेको पाइएमा तत्काल नियन्त्रणमा लिइने सशस्त्र प्रहरीको भनाइ छ । भारतीय निर्वाचनलाई लक्षित गर्दै सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गर्न प्रदेश नम्बर १ सशस्त्र प्रहरी प्रमुख डिआईजी कमल गिरीले निर्देशन दिएका छन् ।
सीमा क्षेत्रमा मानव तस्करी, अवैध हातहतियार कारोबार, लागूऔषध ओसार–पसार, अपहरणजस्ता गैरकानूनी क्रियाकलापका घटना न्यूनीकरण तथा नियन्त्रण गर्दै सीमा क्षेत्रमा शान्तिसुरक्षा मजबुत बनाइराख्न सशस्त्र प्रहरी सक्रियताका साथ लागेको डिआईजी गिरीको भनाइ छ ।