उर्लाबारी । वर्षाका कारण प्रभावित उर्लाबारीका बाढी प्रभावित क्षेत्रमा अवलोकनसँगै स्थानीयलाई सामाजिक संस्था र राजनीतिक दलले सहयोग सुरु गरेका छन् ।
असोज ३० गतेदेखि कात्तिक ४ गतेसम्म लगातारको वर्षाका कारण उर्लाबारीस्थित मावा खोलामा आएको बाढीले नगरको वडा नं. ७ का ५ तथा वडा नं. ९ का ९५ घर एवम् सयौँ बिगाहामा लगाएको धानबालीमा क्षति पुगेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
शुुक्रबार बाढी प्रभावित क्षेत्रमा मोरङ क्षेत्र नं.१ बाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद् घनश्याम भण्डारी, उर्लाबारी नगर प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारीसहितका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुखहरूले अवलोकन गरेका छन् । अवलोकनका क्रममा सांसद् खतिवडाले खोला नियन्त्रणको लागि पहल गर्ने आश्वासन दिएको प्रभावित क्षेत्रका बासिन्दाले बताएका छन् ।
यसै क्रममा शनिबार नेपाल रेडक्रस सोसाइटी उर्लाबारीको समन्वयमा रेडक्रसको जिल्ला शाखाले उपलब्ध गराएको राहत सामग्री उर्लाबारीका नगर प्रमुख खड्ग फागो, जिल्ला सभापति सुबोधकुमार सिंहसहितले संयुक्तरूपमा वडा नं. ७ का प्रभावित ५ घरपरिवारलाई राहत सामग्री उपलब्ध गराएको उर्लाबारीस्थित रेडक्रस उपशाखा कार्यालयले जनाएको छ ।
यसैगरी नेपाली काङ्ग्रेस नगर समिति उर्लाबारीले शुक्रबार उक्त क्षेत्रका ३० घर परिवारलाई चामल, दाल, तेल, नुन र बेसार वितरण गरेको नगर सभापति सुरेन्द्र लिम्बूले बताएका छन् ।
सो पार्टीका वडा नं. ६ का क्षेत्रीय प्रतिनिधि दम्पती डिल्लीराज अधिकारी र भागिरथा अधिकारीसहितले उपलब्ध गराएको उक्त राहत सामग्री उर्लाबारी नगर प्रमुख फागोले प्रभावितको टोल–टोलमा पुगेर वितरण गर्दै सबै राजनीतिक दल, सङ्घ–संस्थाहरूलाई बाढी प्रभावित क्षेत्रमा सहयोग गर्न अपिलसमेत गरेका छन् ।