धरान । इटहरी उपमहानगरपालिकाले बाढीपीडितलाई राहत दिने निर्णय गरेको छ ।
नगरको बिहीबार बसेको कार्यपालिकाको बैठकले बाढीपीडितलाई राहत दिने निर्णय गरेको हो । त्यसका लागि नगरका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले सात दिनको तलब विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको नगरस्तरीय विपद् व्यवस्थापन समितिका सदस्य–सचिव पुष्प चौधरीले जानकारी दिए ।
नगरप्रमुख द्वारिकलाल चौधरीले एक महिनाको तलब जम्मा गर्ने घोषणा गरे । बाढीका कारण इटहरीमा ज्यान गुमाउनेका परिवारलाई किरिया खर्च बापत २५ हजार उपलब्ध गराउने निर्णय गरेको छ ।
यसैगरी वडाहरूमा पीडितका लागि लत्ताकपडा र मेस सञ्चालन गर्न सबै वडालाई एक लाख रुपैयाँका दरले पेश्की उपलब्ध गराउने निर्णय गरिएको छ ।
बाढीले भत्काएका बाटो, कल्भर्ट तत्काल मर्मत गरिने निर्णय भएको छ । बैङ्क तथा वित्तीय सस्थाहरूसँगको बैठकमा पनि इटहरीमा रहेका बैङ्क तथा वित्तीय संस्थाहरूले पनि राहत कोषमा सहयोग रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको नगर प्रमुख द्वारिकलाल चौधरीले जानकारी दिए ।