धरान । सुनसरी र इलाममा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ । आइतबार सुनसरीको कोशी गाउँपालिका ३ पूर्वपश्चिम राजमार्गमा पिकअप म्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा रामधुनी नगरपालिका १ सैनीमैनीका २४ वर्षीय चालक विशाल चौधरी रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ । उनको उपचाको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गमा प्रदेश ३–०१–०२४ च ४२६७ नम्बरको पिकअपले को ५ प ७९१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार सोही ठाउँका २१ वर्षीय रोहित चौधरी गम्भीर घाइते बनेका छन् ।
ठक्कर दिने पिकअप चालक सिराहा मिर्चैया नगरपालिका ११ सितापुरका २० वर्षीय मोहन ठाकुर र पिकअपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै इलामको माईजोगमाइ गाउँपालिका २ स्थित भित्रीसडकमा को १ त ६८९० नम्बरको ट्याक्टर ब्रेकफेल भई अनियन्त्रित भई सडकबाट २५ मिटर तल खस्दा ट्याक्टरमा सवार ५० वर्षीय मनमाया राईको मृत्यु भएको छ । ५ नम्बर वडावासी राईको घटनास्थलमै मृत्यु भएको हो । चालक १ नम्बर वडाका ३२ वर्षीय अमित थामीलाई इलाका प्रहरी कार्यालय नयाँबजारले नियन्त्रणमा लिएको छ ।