धरान । धरान १ का वडाध्यक्ष रोशन अधिकारी प्याराग्लाइडिङको उडान गर्ने क्रममा दुर्घटनामा परेका छन् ।
हावाहुरीसँगै एक्कासि आएको पानीले प्याराग्लाइडिङलाई असर गर्दा दुर्घटनामा परेका हुन् । पर्यटकीय क्षेत्र भेडेटारबाट उडान भरेका उनी हावाहुरीका कारण वराहक्षेत्रको कोशी नदी छेउमा खसेका छन् ।
उनी सामान्य घाइते भएको जनाइएको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका अनुसार घाइते बनेका अधिकारीलाई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
धरानमा अवतरण गर्न नसकेर उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोँच नजिकैको सप्तकोशी नदी किनारामा खसेको थियो । उनको ढाँडमा समस्या देखिएको छ ।