धरान । प्रदेश १ का विभिन्न जिल्लामा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने चारजना घाइते बनेका छन् ।
प्रदेश १ को मोरङ, सुनसरी, उदयपुर र झापाका विभिन्न स्थानमा दुर्घटना हुँदा तीनजनाको ज्यान गएको हो । मोरङको रंगेली नगरपालिका ९ को भित्री सडकखण्डमा को २ त ९२११ नम्बरको ट्याक्टरबाट खसेर ८ नम्बर वडाका १८ वर्षीय विवेक ताजपुरियाको ज्यान गएको छ । ट्याक्टरमै मजदुरका रूपमा काम गर्ने ताजपुरिया गम्भीर घाइते भई उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालमा पठाइएको थियो तर त्यहाँबाट नोबेल अस्पतालमा रिफर गरिएको थियो । बायाँ खुट्टा कम्मर र बायाँ खुट्टामा चोट लागी गम्भीर बनेका उनको उपचारको क्रममा निधन प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ट्याक्टर चालक मोरङ पथरी शनिश्चरे नगरपालिका ३ का २९ वर्षीय दोर्णबहादुर कार्कीलाई इलाका प्रहरी कार्यालय दोहमनाले नियन्त्रणमा लिइएको छ । चालकसँग सवारी चालक अनुमति पत्र साथमा नभएको पाइएको छ । ट्याक्टरमा झुण्डिएर सवार गरेका कारण मृत्यु भएको जनाइएको छ ।
त्यस्तै झापाको भद्रपुर नगरपालिका ४ को भित्री सडकमा को ४ प ३३८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँका ३० वर्षीय बिनोद राजवंशी र पछाडि सवार ३६ वर्षीय दन्तलाल राजवंशी गम्भीर घाइते बनेका थिए । घाइतेमध्ये दन्तलालको उपचारको क्रममा भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालमा मृत्यु भएको छ । घटना भद्रपुरबाट डेढ किलोमिटर दक्षिणमा पर्ने जनाइएको छ । चालकको सवारी चालक अनुमति पत्र नभएको पाइएको छ भने मादक पदार्थ सेवन गरी सवारी चलाएको प्रहरीले जनाएको छ ।
त्यस्तै सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरमा को ३९ प ९५६३ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको दश चक्के रातो रंगको नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवारको ज्यान गएको छ । मृत्यु हुनेमा सुनसरी देवानगञ्ज गाउँपालिका ६ का ३४ वर्षीय रामनारायण मेहताको उपचारको क्रममा विराटनर्सिंह होम विराटनगरमा उपचारको क्रममा निधन भएको हो । मोटरसाइकल चालक देवानगञ्ज ६ का आवास मियाँलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ भने ठक्कर दिने ट्रकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै उदयपुरको बेलका नगरपालिका ५ स्थित मदन भण्डारी सडक खण्डमा को १४ प ५१७५ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको छ ।
सोही ठाउँका २२ वर्षीय राजकुमार मगरलाई ठक्कर दिँदा गम्भीर घाइते बनेका छन् । यस्तै मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय नारायण कटुवाल र पछाडि सवार २५ वर्षीय प्रल्हाद कटुवाल पनि गम्भीर घाइते बनेका छन् । पैदलयात्री मगर र मोटरसाइकल चालक कटुवाललाई उपचारका लागि विराटनगर पठाइएको छ ।