धरान । आज देशभरका शक्तिपीठहरू फूलपाती भित्र्याइँदै छ । नेपालको एकीकरणपश्चात् गोर्खा दरबारबाट काठमाडौंको तलेजु भवानीको मन्दिरसम्म फूलपाती ल्याउने प्रचलन छ । 

शाह वंशले देशको बागडोर सम्हालेयता नै यो प्रचलन बसेको हो । आज नेपाली सेनाले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपातीको हर्षबढाइँ गर्दै छ । जसमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सरिक हुने कार्यक्रम छ किनकि राष्ट्रपति नेपाली सेनाका परमाधिपति हुन् । 

धरानको दन्तकाली शक्तिपीठमा पनि फूलपाती भित्र्याउने प्रचलन छ । जसमा मन्दिर व्यवस्थापन समितिसँगै नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीयवासी सरिक हुँदै आएका छन् । विभिन्न नौ प्रकारका पत्रिकाहरूलाई भित्र्याउँदै आएको छ । धरानको पिण्डेश्वर मन्दिरबाट सुरु भएर दन्तकाली शक्तिपीठसम्म फूलपाती भित्र्याउने परम्परा छ । विगत वर्षमा कोरोना महामारीका कारण औपचारिकतामै सीमित राखिएको थियो भने यस वर्ष भने हर्षबढाइँका साथ फूलपाती भित्र्याइने धरान १४ का वडाध्यक्ष कृष्ण भट्टराईले जानकारी दिए । 

‘सलामीसहित गर्ने भन्ने तयारी छ, हर्षबढाइँका साथ गर्ने भन्ने तयारीका साथ सबैलाई चिठ्ठीपत्र गरिएको छ, सभामुख, सांसदहरूलाई पनि पत्राचार गरिएको छ’ अध्यक्ष भट्टराईले भने, ‘यो हाम्रो संस्कृति हो, त्यसलाई जगेर्ना पनि गर्नुपर्छ, धार्मिक पर्यटनलाई पनि थप मद्दत पुग्छ भन्ने छ ।’

फूलपातीअन्तर्गत केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको बाला, केराको बोट, जयन्ती र उखुका लहरापात र फूलपात समिश्रित गरी भित्र्याइन्छ । आजका दिन घर घरमा बलि दिने चलन पनि छ । आजको दिन कालरात्रि देवी दुर्गा देवीको पूजा गरिन्छ । दुर्गादेवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पुनर्जीवन पाउने रक्तबिज नामक दैत्यको संहार गरेको विश्वास गरिन्छ । त्यस्तै आजकै दिन विद्या तथा संगीतकी देवी सरस्वतीको पनि पूजाअर्चना गर्ने गरिएको छ ।