पथरीशनिश्चरे / मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका मासु पसलहरु सरसफाईमा ध्यान नदिइ समग्र न्यूनतम मापदण्ड समेत पुरा नगरी सञ्चालन भएको पाइएको छ ।
शनिवार नगर प्रमुख दिलीपकुमार राईको समेत उपस्थिती र नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा अधिकृत शिव राई, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी कृष्ण खड्का, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ सहितको टोलीले मासु तथा किराना पसलहरु अनुगमन् गरेको छ ।
वडा नम्बर १ को पथरी बजार र २ को बुद्धचोक क्षेत्रको अनुगमन्का क्रममा अधिकांश मासु पसलहरु सरसफाईमा ध्यान नदिई समग्र न्यूनतम मापदण्ड समेत पुरा नगरी सञ्चालन गरिएको पाइएको अनुगमन् संयोजक बास्तोलाले जनाइन् ।
‘हामीले दशैंको समयमा उपभोक्ताको हकाधिकारलाई ध्यानमा राखेर पसलहरुको अवस्था अनुगमन् गर्दा मासु पसलमा सरसफाईमा ध्यान नदिई लापरवाही गरेको पाएपछि नगरमा बोलाएर थप सचेत गराउन पत्र काटेका छौं ।’– संयोजक वास्तोलाले भनिन् ।
अधिकांश मासु पसलमा मासु जालीभित्र वा सिसाभित्र सुरक्षित नराखी खुला रुपमा राखिएको, मासु काटदा लगाइने एप्रोन सफाइमा ध्यान नदिइएको, मासु काट्नेस्थल तथा विक्रीस्थलमा सरसफाईमा ध्यान नदिइएको पाइएको छ ।
कोरोना संक्रमणकै अवस्था भएकाले कोरोनाबाट बच्न तथा जुनेटिक रोगबाट समेत बच्न पसलेले मास्क, सेनिटाइजर र ग्लोब्सको प्रयोग नगरेको अवस्थामा कोरोना र जुनेटिक रोगको समेत खतरा देखिएको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाए ।
कतिपय पसलहरु दर्ता नै नभइ सञ्चालन भएको, ग्राहकले देख्नेगरिको मूल्य सूची टाँस नगरिएको, आयोडिन नष्ट हुनेगरी नूनलाई घाममा राखिएको सहितका अव्यवस्थित सञ्चालन भएको पाइएपछि त्यसका सञ्चालकहरुलाई सोमबार नगरपालिका कार्यालयमा बोलाइ ओरेन्टेशन् समेत दिएर पूर्ण रुपमा मापदण्ड पुरा गराउन सचेत गराउने कार्यक्रम राखेको छ ।
त्यसैगरी, नगरकै ठूलो पसलका रुपमा रहेको गोरखा डिपार्टमेन्ट स्टोर सहितका केहि किराना पसलमा पनि अनुगमन् गरिएको छ । यस क्रममा उत्पादन मिति, म्याद सकिने मिति सहितको लेभल नभएका केहि चकलेट सहितका सामग्री फेला परेकाले कम्पनीलाई सोको बारेमा तत्काल जानकारी गराइ सामग्री फिर्ता गर्न सचेत गराइएको छ ।
पसलले प्याकिङ गरेर विक्रीका लागि राखिएका खाद्य वस्तुको पनि उत्पादन मिति र उपभोग गर्ने अवधिको मिति उल्लेख गर्न सचेत गराइएको छ । अनुगमन् टोलीले कालोबजारी नगर्न तथा उपभोक्ताको स्वास्थलाई मध्यनजर गरेर खाद्य सामग्री विक्री वितरणका लागि व्यवसायीमा अनुरोध गरेको छ ।