विजयपुर । भोजपुरको अरुण गाउँपालिका–६ पाल्पा सुनार गाउँकी सावित्रा बराइली मरणासन्न हुने गरी कुटिएकी छन् । 

उनलाई स्थानीय सोमकुमार राईले असोज १४ गते कुटपिट गरेका हुन् । घटनाको अघिल्लो दिन राईकी बहिनीसँग सावित्राको झगडा परेको थियो । बहिनीले पनि जातीय भेदभावजन्य गालीगलौज गरेको र सोही विषयलाई लिएर राईले कुटपिट गरेको सावित्राका पति टङ्क बराइलीले बताए । 

कुटपिट गर्ने राई नेपाली काङ्ग्रेसका पूर्व गाविस सभापति हुन् । बराइली पसलमा एक्लै बसिरहेका बेला एक्कासि आएर हातपात गरेको पीडितका पतिले बताए ।

कुटपिटबाट सावित्राको टाउको र अनुहारमा गम्भीर चोट लागेको उनले बताए । राईले ती महिलाको संवेदनशील अङ्गमा हातपातसमेत गरेको उनका पतिको आरोप छ । राईले सावित्रालाई योजनाबद्ध तरिकाले कुटपिट गरेको उनी दाबी गर्छन् । 

‘एक्लै भएको समयमा मार्नका लागि योजना बनाएका रहेछन्, राईले मलाई घटना भएको अघिल्लो दिन नै कता जाने, के गर्ने भनी खोजी गरेका थिए’ बराइलीले भने, ‘मैले सङ्खुवासभाको तुम्लिङ्टार जाने बताएँ, भोलिपल्ट पनि मलाई फोन गरेर कहाँ छौँ भने मैले सोझो मनले तुम्लिङ्टारमा रहेको बताएपछि श्रीमतीलाई आक्रमण गरेछन् ।’ 

बराइलीले कुटपिट गर्ने राईविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । तर, राई काङ्ग्रेसका स्थानीय नेता भएकाले उनलाई बचाउन राजनीतिक दल र जनप्रतिनिधि लागेको उनको आरोप छ । उनले पीडित गाउँपालिका प्रमुख गजेन्द्रबहादुर कार्की र सोही गाउँपालिका वडा नं. ६ का अध्यक्ष ज्ञानेन्द्र दाहाल कुटपिट गर्ने राईलाई बचाउन लागिपरेको उनको दाबी छ ।

गाउँपालिका प्रमुख कार्की घटनालाई दबाउन र पीडकलाई उन्मुक्ति दिन लागिपरेको उनले आरोप लगाए । राईलाई छुटाउन गाउँपालिका प्रमुख कार्की इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङसम्म र वडाध्यक्ष दाहाल भोजपुरसम्म पुगेको उनको दाबी छ । 

तर, गाउँपालिका प्रमुख कार्की भने आफूले संरक्षण नगरेको दाबी गर्छन् । उनले दुवै पक्षलाई सहजीकरण गरी कानूनलाई मान्न र झै–झगडा नगर्न आफूले भनेको बताए । उनले आफू तिवारीभञ्ज्याङ उक्त घटनाका विषयमा नभई अर्कै कामका लागि गएको बताए ।

‘राजनीति गर्ने मान्छे हौँ, जान्छौँ’ उनले भने, ‘गाउँपालिकाको अध्यक्षको हैसियतले पीडित र पीडक दुवैलाई भेटेँ । मलाई प्रहरीले बुझ्नका लागि बोलाएको पनि थियो, गएँ तर, मिल पनि भनिनँ, नमिल पनि भनिनँ, कानूनअनुसार पीडितले न्याय र पीडकलाई कारबाही हुनुपर्छ ।’ 

वडा नं. ६ का अध्यक्ष दाहाल पनि आरोपमा सत्यता नभएको दाबी गर्छन् । उनले दोषी छुट्नु हुँदैन, पीडितले न्याय पाउनुपर्छ  भनेर दोषीलाई नियन्त्रणमा लिन आफूले प्रहरीलाई सहयोग गरेको बताए ।

‘महिलालाई कसैले आक्रमण गर्दैछ भने त नगर भन्नुपर्छ । आक्रमण गर्नु गल्ती हो, कानूनबमोजिम कारबाही हुनुपर्छ’ –उनले भने । आफू दोषीलाई बचाउन नभई पीडित पक्षलाई सहयोग गर्न भोजपुर गएको उनले दाबी गरे । तर, पीडित महिलाका श्रीमान् भने राई काङ्ग्रेस भएकाले संरक्षण गरेको दाबी गर्छन् । 

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी राजकुमार राईले पीडितका आफन्तले जाहेरी दिएको र सोहीअनुसार मुद्दा दर्ता भई अभियुक्तलाई म्याद थप गरी प्रक्रिया अगाडि बढेको बताए । उनले भने, ‘आफन्तको जाहेरीअनुसार प्रक्रिया अगाडि बढेको छ ।’ डिएसपी राईका अनुसार अभद्र व्यवहारमा मुद्दा दर्ता भएको छ ।

बिरामीको अवस्था सामान्य सुधार भए पनि अझै केही दिन उपचार गर्नुपर्ने उनका श्रीमान्ले बताए । उनले दोषीलाई हदैसम्म कारबाही हुनुपर्ने माग गरे ।