बेलबारी । साना करदातालाई राहत स्वरूप यस वर्ष सरकारले दश प्रतिशत मात्र राजश्व लिइरहेको छ । तर दश प्रतिशत बापतको नगरपालिकाको हकमा वार्षिक चार सय र गाउँपालिकाको हकमा वार्षिक दुई हजार पाँच सय राजस्व तिर्न कार्यालय जाँदा गेट बाहिरै सहयोगीको नाममा केही व्यक्ति तथा पसलहरूले तिन सय देखी छ सयसम्म सेवा शुल्क लिने गरेका छन् ।
यसरी सेवाग्राही ठगिँदै गर्दा स्थानीय प्रशासन भने मुखदर्शक बनिरहेको छ । केही दिन अघि बेलबारी ११ लक्ष्मीमार्गकी सन्तोषी तामाङ आफ्नो व्यवसायको राजश्व तिर्न बिराटचोक स्थित करदाता सेवा कार्यालय पुगिन् । गेट बाहिरै रहेको एउटा फोटोकपी सेन्टरमा फोटोकपी गर्न र फर्म भर्न सहयोगको लागी पुगेकी सन्तोषीले राजश्व चार सय र अन्त शुल्क त तिरिन् नै त्यस सँगै त्यस बापतको ५ सय सेवा शुल्क पनि तिरिन् । सन्तोषी जस्तै दैनिक सयौँको सङ्ख्यामा सेवाग्राहीले विभिन्न बाहानमा अन्य शुल्क तिर्न बाध्य छन् ।
करदाता सेवा कार्यालय बिराटचोकका प्रमुख नेत्र घिमिरेले भने यस प्रकारका घटना हुन नदिन आफूले र कार्यालयले प्रयास गरिरहेको बताए । सेवाग्राही आफै बैंकमा गएर राजश्व भुक्तानी गर्न सकिने व्यवस्था रहेको र आइडी अनि पासवर्ड कार्यालयसँग लिए पछि आफै इन्ट्री गर्न सकिने कुरा प्रमुख घिमिरेले बताए ।
तर घिमिरेले बताए जस्तो सबै सेवाग्राही प्रविधिमा सक्षम नभएका कारण विभिन्न एजेन्टहरु सँग ठोकिन बाध्य छन् । यो समस्या बिराटचोकमा मात्र नभएर विराटनगर र पथरीमा पनि रहेको सेवाग्राहीले गुनासो गर्ने गरेका छन् ।
साना व्यवसायीलाई सहज र सजिलो होस् भन्ने हिसाबले मोरङको विराटनगर बाहेक पथरी र बिराटचोकमा पनि तिन वर्ष अघि करदाता सेवा कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ ।
नेपालमा श्रोत रहेको व्यवसायबाट मात्र आर्थिक वर्षमा २० लाखभन्दा कम कारोबार भएको र रु २ लाख ५० हजारसम्म आय हुने प्रकृतिका व्यवसायी तथा फर्मले गाँउपालीकाको हकमा दुई हजार पाँच सय र नगर पालिकाको हकमा चार हजार वार्षिक तिर्नुपर्ने व्यवस्था छ । नयाँ फर्म दर्ताको लागी स्थानीय निकायको सिफारिस र उपयुक्त कागजात भएपछि निःशुल्क दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ ।