धरान । साफ च्याम्पियनसिपको तेह्रौं संस्करणको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।

माल्दिभ्समा शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपमा माल्दिभ्सलाई १–० गोलले पराजित गरेको हो । खेलमा मनिष डाँगीले निर्णायक गोल गरेका थिए । 

नवयुग श्रेष्ठको सट्टामा मैदानमा प्रवेश गरेका उनले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए । योसँगै नेपालले यसअघिको हारको बदला लिएको छ । यसअघि सन् २०१८ मा भएको पछिल्लो साफको सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३–० गोलले हराएको थियो । 

नेपालले पछिल्ला ८ खेलमा पहिलोपटक माल्दिभ्सलाई पराजित गरेको छ । यसअघिका ५ खेलमा हार बेहोरेको नेपालले दुई खेल बराबरी गरेको थियो । निर्णायक गोलकर्ता मनिष नवयुग श्रेष्ठको सट्टामा ६९ मिनेटमा मैदान प्रवेश गरेका थिए । 

नेपालका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बूले माल्दिभ्सका खेलाडीको प्रहारहरूलाई उत्कृष्ट बचाउ गरेका कारण पनि नेपालले जित हात पारेको हो । नेपालले तीन अंक जोड्दै सुखद सुरुवात गरेको छ । 

यसपटकको साफमा पाँच देशले मात्रै सहभागिता जनाएका छन् । राउन्ड रोबिन लिगको आधारमा भइरहेको प्रतियोगितामा नेपालले श्रीलंकासँग दोस्रो खेल खेल्दै छ । दुईबीच सोमबार भेट हुँदै छ ।