भद्रपुर / भद्रपुर नाका खुलाउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको छ । नेपाल–भारत मैत्री सङ्घ झापाले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई भद्रपुर नाका सहज बनाउन ध्यानाकर्षण गराएको हो । 

विगत १८ महिनादेखि बन्द रहेको भद्रपुर नाका खुलाउन । सङ्घका अध्यक्ष प्रदीपमणि रेग्मीले नेपाली काँङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलामार्फत प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् । भद्रपुर नाका सहज बनाउनु पर्ने माग राख्दै काँङ्ग्रेस नेता सिटौलासँग सोमबार फोनमा कुराकानी गरेको अध्यक्ष रेग्मीले बताए  । नेता सिटौलाले सो कुरालाई सकारात्मक रूप लिँदै नाका खुलाउने विषयमा लागि परेको र प्रधानमन्त्री देउवालाई समेत आग्रह गर्ने बताएको अध्यक्ष रेग्मीले जानकारी दिए ।

यसअघि नाका खुलाउने विषयमा झापा उद्योग वाणिज्य सङ्घ र झापा उद्योग सङ्घले जिल्ला प्रशासन कार्यालय झापामा छुट्टा–छुट्टै ज्ञापन पत्र बुझाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेको छ ।  कोभिड १९ महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले २०७६ साल चैत ११ गतेदेखि भद्रपुर नाकाबाट आवतजावत पूर्ण रुपमा रोक लगाएको छ । भद्रपुर नाकाबाट भारतबाट आउने ढुवानीका सरसामानमा भने कुनै रोक लगाएको छैन । मेची पुल वाहेक दायाँबायाँबाट लुकीछिपी अवत जावत भने रोकिएको छैन । 

सरकारले ३७ करोड लगानी गरेर भद्रपुर–गलगलिया सीमा जोड्ने मेची नदीमा पक्की पुल बनाएको छ ।  लामो समयदेखि सीमा नाका बन्द हुँदा मेची पुलको उपयोग गर्न यहाँका जनतालाई सरकारले वञ्चित गराएको छ । खोप कार्ड र पिसीआर रिपोर्टको आधारमा कम्तीमा अतिआवश्यक कामका लागि भारत जाने व्यवस्था यही नाकाबाट मिलाई दिन यहाँका जनताले बारम्बार आवाज उठाइरहेका छन् । 

सरकारले उही मान्यता रहेको काँकडभिट्टामा भने नियअनुसार आवत जावत जारी भएपनि भद्रपुर नाका भने ठप्प रहको छ । दुवै नाकामा मूल भन्सार रहेका छन् । भद्रपुर नाका बन्द हुदा भद्रपुर बजार लगायत आसपासका व्यापारीलाई भने फाइदा पुगेको छ । नाका सहज हुने वित्तिकै साना साना मालसमान खरिद गर्न भारत पुगेपछि नेपाल तर्फका व्यवसायमा असर पुग्ने विगतको गतिविधीले पुष्टि गरिसकेको छ ।