विराटनगर  । मोरङको जहदा गाउँपालिका – ४ स्थित सार्वजनिक माविका प्रधानाध्यापक अजय कुमार सिंहले किर्ते हस्ताक्षर गरेर रिक्त रहेको प्रावि तृतीय शिक्षक सरुवामा अनुमति दिएको पाइएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षसहित ७ जना सदस्यहरूको किर्ते हस्ताक्षर गरी रिक्त रहेको शिक्षकमा प्रअ सिंहले दुई जना शिक्षकलाई सरुवाको अनुमति दिएको हो ।

सार्वजनिक माविमा रिक्त रहेको प्रावि तृतीय शिक्षक सरुवा गरेर अनुमति दिँदा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितको समितिका पदाधिकारीहरूले निर्णय गरिनुपर्ने हुन्छ । तर, प्रअ सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वेश्वर मुखिया, सदस्यहरू बालकृष्ण राजभर, बलराम मण्डल, सर्मिलादेवी मण्डल, उषादेवी गनगाई र उर्मिला त्रितालको हस्ताक्षर किर्ते गरी सरूरको अनुमति दिएको आरोप छ ।
सिंहले रिक्त रहेको ठाउँमा ताप्लेजुङ्गको अठराइ त्रिवेणी गाउँपालिका ४ मा रहेको सरस्वती आधारभूत विद्यालयका प्रावि तृतीयका शिक्षक कल्पना कुमारी यादव र उदयपुरको बेलका नगरपालिका ८ मा रहेको जागीरामथानी आधारभूत विद्यालयका शिक्षक पवन मण्डललाई सरुवा अनुमित दिएको पत्र फेला परेको जहदा गाउँपालिकाका अध्यक्ष कैलाश प्रसाद मण्डलले जानकारी दिए ।

सरुवा भएर आउने मण्डल  भदौ २ गते र यादव भदौ ३ गते सरुवा अनुमित पत्र लिएर आएका थिए । व्यवस्थापन समितिका अध्यक्षसहितका पदाधिकारीहरूको किर्ते हस्ताक्षर गरेर सिंहले आफू अनुकूलको शिक्षक झिकाएर सरुवा अनुमतिको पत्र गाउँपालिकामा बुझाएका थिए । प्रअ सिंहले दुई जना शिक्षकलाई व्यवस्थापन समितिको किर्ते हस्ताक्षर गरी सरूवा अनुमति पत्र दिएको पत्तो पाएपछि आवश्यक छानबिन गरी समितिको किर्ते हस्ताक्षर गर्ने प्रअलाई कारबाहीको माग राख्दै भदौ १० गते जहदा गाउँपालिकामा उजुरी दिएका थिए ।

व्यवस्थापन समितिले उजुरी गाउँपालिकामा दिएपछि अध्यक्ष कैलाश प्रसाद मण्डलले सार्वजनिक माविको प्रअदेखि सिंहलाई हटाएर सोही विद्यालयका शिक्षिका लत्ता मण्डललाई प्रअको जिम्मेवारी दिएको छ ।

‘व्यवस्थापन समितिदेखि किर्ते हस्ताक्षर गरेर शिक्षक सरुवाको अनुमिति दिएको पाइएपछि हामीले सार्वजनिक मावि स्कुलको प्रअको जिम्मेवारी हेरफेर गरेका हौं,’ उनले भने, ‘अहिले अनुसन्धानको क्रममा रहेकोले सिंहलाई हटाएर हामीले मण्डललाई प्रअ जिम्मेवारी दिएका छौँ ।’ अहिले व्यवस्थापन समितिले दिएको उजुरी उपर पनि अनुसन्धान सुरु गरिएको उनले बताए । किर्ते हस्ताक्षर गरेको ठहर भए थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा पठाउने उनले बताए ।

यता शिक्षक अजय कुमार सिंहले गाउँपालिका अध्यक्षले कानुन विपरीत आफूलाई प्रअबाट हटाएकोले कानुनी उपचार खोज्ने बताएका छन् । ‘आन्तरिक राजनैतिक द्वन्द्वको कारणले गाउँपालिका अध्यक्षले मैलाई फसाउन खोजिएको हो ।
नियमावली विपरीत मलाइ प्रअदेखि हटाएको छ । यसरी नियमावली विपरीत पदबाट हटाएपछि आफू कानुनी उपचार खोज्नेछु,’ उनले भने, ‘एक पटक पनि नसोधी एकलौटी तरिकाले गाउँपालिकामा अध्यक्षले अधिकार प्रयोग गरी हटाएको हो । यो प्रक्रिया सरासर गलत हो ।’