विराटनगर । सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१६ रानीबाट लगभग १९ लाख मूल्य बराबरको अवैध रूपमा भित्र्याएको औषधि बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार दुईवटा कार्टुन झाडीमा फ्यालेको अवस्थामा औषधि बरामद गरिएको हो । प्रहरीको आँखा छल्न बिस्कुटको कार्टुनमा औषधि प्याक गरेको पाइएको उनले बताए । 

डेक्समिडाइन, टिगेवेस्ट, टिकोवाक्ट, कुटेनोक्स, डोटामिन, निप्रेस लगायतका ११ प्रकारका औषधि बरामद गरिएको एसपी पौडेलले जानकारी दिए । बरामद भएको औषधि अवैध रूपमा तस्करी धन्दा चलाउने गिरोहको सञ्जालले ल्याएको हुनसक्ने प्रहरीले बताएको छ ।

लागत मूल्यभन्दा, दोब्बर, तेब्बर बढी मुनाफा हुने भएकाले गिरोहले भरिया प्रयोग गरी औषधि ल्याउने गरेका छन् । स्रोतका अनुसार भारतदेखि तस्करीको औषधि सबैभन्दा बढी सीमावर्ती क्षेत्रका फार्मेसीले मगाउने गरेका छन् ।