इनरुवा । बोर्डर आउट पोष्ट लौकहीको सामुन्नेमै राजश्वले छापा हानेको छ ।
राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले बिओपी लौकही नजिकै पर्ने लौकही बजारमा छापा हानेको हो । सो क्रममा राजश्वको टोलीले ठुलो परिमाणमा चिनी सहितका खाद्यान्न सामाग्री बरामद समेत गरेको छ ।
बेओपीकै सामुन्नेमा रहेको बजारमा भन्सार छलेर भण्डारण गरिएको ठुलो परिमाणका सामाग्री बरामद गरिनुले सीमामा रहेको सशस्त्र प्रहरी माथि नै विभिन्न शंका उब्जाएको स्थानीयले बताएका छन् । उनीहरूले सशस्त्रकै सामुन्ने भएर आउने सामान स्टकमा भेटिनुलाई सामान्य मान्न नहुने बताए ।
यता राजश्व अनुसन्धान कार्यालय इटहरीका अनुसन्धान अधिकृत दिपक खड्काले प्राप्त सूचनाका आधारमा छापमारी गरिएको जानकारी दिए । उनले छापेमारीको क्रममा ठुलो परिमाणमा चिनी सहितका खाद्यान्न सामाग्री बरामद भएको बताए ।
सुराकीका आधारमा हिजो साँझ सिल गरिएको कोसी गाउँपालिका १ लौकहीमा रहेको निशा किराना पसलमा सशस्त्र प्रहरी सहित पुगेको राजश्वको टोलीले छापा मारेको हो ।
छापा मार्ने क्रममा शंकर साहको सो पसलबाट ७८ बोरा चिनी सहित तेल, बिस्कुट लगायतका खाद्यान्न सामाग्री बरामद भएको राजश्व कार्यालयका अधिकृत शिव निरौलाले बताए । उनले सो सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।