धरान । टिभी रियालिटी शो ‘हिमालयन रोडिज’ को चौथो संस्करणका लागि अडिसन हुने भएको छ ।

यामाहा कम्पनीले हिमालयन रोडिज शो गर्दै आएको छ । चौथो संस्करणका लागि विभिन्न स्थानमा प्रि–अडिसन हुन लागेको हो । युवाहरूमा लोकप्रिय मोटरसाइकल यामाहाले युवा सशक्तिकरणका लागि रोडिजसँग दोस्रो सिजनदेखि आबद्ध छ ।

नेपालका पन्ध्रवटा स्थानमा अडिसन गर्न लागिएको हो । रेमण्डदास श्रेष्ठको सञ्चालन रहने चौथो सिजनको थिम ‘सिजन अफ सर्भाइभल’ रहने जनाइएको छ ।

ग्याङ लिडर फम्र्याटमा अठार भाग रहने शोमा अनुपविक्रम शाही (टिम रेड), लाउरे (टिम ग्रीन), समन (टिम ब्लू) र दिया मास्के (टिम येल्लो) ग्याङ लिडरका रूपमा रहनेछन् । भिआकोम १८ को नेपाली फ्रेञ्चाइज शोका रूपमा रहेको उक्त रोडिज हिमालयन टिभीमा प्रसारण हुँदै आइरहेको छ ।

तेस्रो संस्करण सुजन सुवेदीले जितेका थिए । कम्पनीका अनुसार १३ स्थानमा हुन लागेको अडिसन प्रदेश १ को विराटनगर, धरान र बिर्तामोडमा हुन लागेको छ । भदौको १८ देखि २० सम्म यी स्थानमा हुन लागेको हो । त्यस्तै अन्य प्रदेशका पनि विभिन्न स्थानमा हुन लागेको जनाइएको छ ।