झापा  : अज्ञात समूहले झापा गाउँपालिका-५ स्थित पन्थापाडा आधारभूत स्वास्थ्य चौकी तोडफोड गर्दै सर-सामान चोरी गरेको छ । 

 साँझको समयमा स्वास्थ्य चौकीको मुख्य प्रवेशद्वारको चेन गेट र कार्यालयको तीन वटा ढोकाको ताला तोडफोड गरी सरकारी सम्पत्तिमा क्षति पुर्‍याउनुका साथै स्वास्थ्य चौकीभित्रका सर-सामान चोरी भएको सचिव पूर्णचन्द्र मैनालीले जानकारी दिए ।

 सो समूहले स्वास्थ्य चौकीभित्र रहेको एउटा पानी तान्ने मोटर, एउटा स्टेन पङ्खा, एक थान बिपी सेट र ६ थान प्लास्टिक चोरी भएको उनले बताए ।

स्वास्थ्य चौकीमा चोरी भएपछि कर्मचारीले स्थानीय प्रहरीलाई खबर गरेका छन् । चोरी गर्ने समूहको पहिचान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन स्वास्थ्य अधिकृत प्रेम न्यौपानेले आग्रह गरेका छन् ।


 झापा प्रहरीले  थप अनुसन्धान गरिरहेको जनाएको छ भने घटना स्थलमा सिसि टिभी जडान नभएको  पाइएको छ ।