धरानमा कक्षा १२ अध्यापन गराउने अधिकांश कलेजले एउटामा विज्ञापन गरी अर्कैमा विद्यार्थी भर्ना गर्ने गरेका छन् ।

त्यसमध्येमा धरान–१२ को मेघा कलेजले हिमालयन माविमा भर्ना गरेको विषयमा ब्लाष्टले समाचार प्रकाशन गरेको थियो । मेघाको नाममा विज्ञापन गरे पनि विद्यार्थी भर्ना भने हिमालयन माविमा गर्ने गरेका छन् । त्रिविबाट सम्बन्धन भने अल्पाइन कलेजको नाममा अझै रहेको स्रोत बताउँछ । यता धरान–१६ स्थित युएन कलेजले पनि नवोदयमा भर्ना गर्ने गरेको छ ।

युएन त्रिविबाट सम्बन्धनप्राप्त कलेज हो । युएन–नवोदयको नाममा विज्ञापन गरिरहेको हो । धरान उपमहानगरमा युएन–नवोदय दर्ता भएको पाइँदैन । नवोदय विद्यामन्दिर भने दर्ता छ  । यूएन कलेजका प्राचार्य डम्बर तुम्बापोले युएन–नवोदयकै विज्ञापन गरेको बताए । नवोदय र युएन पनि आफ्नै भएकाले संस्थाले कुनै गल्ती नगरेको दाबी गरे । नवोदय विद्यामन्दिरको छोटो रूप नवोदय भएको उनले बताए ।

यस्तै सिटिइभिटीजस्तै निजीतर्फ एलसीसीआई ग्लोबल क्वालिफिकेसनबाट सम्बन्धनप्राप्त धरान–१० को प्राइम भिजन कलेजले पनि कक्षा ११ र १२ पढाउने भनी घोषणा गरेको थियो । कलेजले पनि कक्षा ११ र १२ को अनुमति लिएको छैन । कलेजमा भर्ना भएका विद्यार्थीलाई प्रभात सेकेण्डरी विद्यालयमा पढाउने गरिएको छ ।

कलेजका कार्यक्रम संयोजक अनिल श्रेष्ठले कलेज दर्ताका लागि धरान उपमहानगरमा निवेदन लिएर जाँदा कार्यविधि नबनेकाले कार्यविधि बनेपछि मात्रै सूचना गरिने शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख रत्नबहादुर कटुवालले जानकारी गराएको बताए । कलेजमा होटल मेनेजमेण्ट मात्रै अध्यापन हुँदै आएको छ ।

महाशाखा प्रमुख कटुवालले धरानमा थुप्रै कलेजले एउटाको नाममा विज्ञापन गरेर अर्कैमा भर्ना गरेको कुरा आएको बताए । युएनको हकमा पनि त्यस्तै रहेको सुन्नमा आएकाले आवश्यक अनुगमन गरेर यथार्थ जानकारी लिइने बताए । प्राइम भिजन उपमहानगरमा दर्ता नभइसकेको बताए ।

शिक्षा, युवा तथा खेलकुद महाशाखाले मङ्गलबार सूचना जारी गर्दै अनुमतिप्राप्त विद्यालयलाई शैक्षिक गतिविधि गर्न निर्देशन दिएको छ । निजी तथा संस्थागत विद्यालय जो अनुमति प्राप्त छन्, उनीहरूलाई मात्रै शैक्षिक गतिविधि गर्न एक सूचना जारी गर्दै निर्देशन दिएको हो ।

सूचनामा एउटा विद्यालयको नाममा कक्षा–११, १२ को अनुमति लिई अर्कै कलेज वा संस्थाको नाममा विद्यार्र्थीको भर्ना गरिरहेको गुनासो आएकाले त्यस्ता गतिविधि तुरुन्त रोक्न निर्देशन गरिएको छ ।