वराहक्षेत्र नगरपालिकामा ट्रायलमा संचालित कोल्डस्टोरमा कृषिउपज कुहिएको छ । वराहक्षेत्रका किसानको ५ सय ७० बोरा आलु कुहिएको कृषकले गुनासो गरेका छन् ।
कृषिउपजलाई सुरक्षित राख्न निर्माण गरिएको कोल्ड स्टोरमै आलु कुहिएको र टुसा पलाउन थालेको कृषकले गुनासो गरे।
गत वर्ष वैशाखमा भण्डारण गरिएको ुदर्पण अर्गानिक कृषि सहकारी संस्थाु को १५ बोरा विभिन्न जातका बिउ आलु कुहिन थालेको, धेरैमा टुसा पलाएको र ऐंजेरु पलाएको कृषक प्रीतबोर चाम्लिङले बताए ।
विद्युत गढबढीका कारण तापक्रम नमिल्दा आलु कुहिएको नगर कृषि शाखाका प्राविधिक नीरबहादुर राईले बताए ।
ट्रायलका लागि १० बोरामात्रै आलु राख्ने भनिए पनि किसानहरुकै दबावका कारण राखिएको आलुको बिउ बिग्रिएको प्राविधिक राईले बताए ।
किसानहरुले बिग्रिएको कृषिउपजको क्षतिपूर्ति नगरपालिकाले दिनु पर्ने माग राखेका छन् ।
प्रदेश १ सरकारको भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको ५० लाख र वराहक्षेत्र नगरपालिकाको १७ लाख रुपैयाँमा वराहक्षेत्र ६ मा कोल्डस्टोर निर्माण भएको थियो ।
वराहक्षेत्र नगरपालिकाले किसानमुखी योजना ल्याए पनि दक्ष कर्मचारी र प्राविधिकको अभावमा समस्या उत्पन्न हुने गरेको कृषकको गुनासो छ ।