अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

उनीहरू जजिरा एयरलाइन्समार्फत् आज बिहान १० बजेर १६ मिनेटमा विमानस्थल आइपुगेका हुन्। काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीलाई अमेरिकाले चार्टर्ड जहाजमा काठमाडौं पठाएको हो। उनीहरूको स्वागत गर्न काठमाडौंस्थित अमेरिकी दूतावासका कमर्चारी विमानस्थल पुगेका थिए। 

अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली आज बिहान काठमाडौं आइपुगेको बताए । तर परराष्ट्र मन्त्रालयले भने ११८ जना नेपाली काठमाडौं आएको ट्वीटरमार्फत् जानकारी दिएको छ ।

उनीहरुलाई लिन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । अफगानिस्तानबाट आएका नेपालीहरुलाई सामाखुसीस्थित एक क्वारेन्टिनमा राख्ने र प्रक्रिया पुर्याएर घर फर्काइने सुरक्षा स्रोतले बतायो ।

अफगानिस्तानमा अझै केही नेपालीहरु उद्धारको पर्खाइमा छन् । परराष्ट्र मन्त्रालयले सोमबार साँझसम्म १३४ नेपालीहरु सम्पर्कमा आएको र सम्पर्कमा आएका सबैलाई उद्धार गर्ने जनाएको छ ।

विद्रोही तालिबान समूहले अफगानिस्तानमा नियन्त्रण जमाएपछि त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विभिन्न देशहरुले सेना पठाएर आफ्ना नागरिकहरुलाई उद्धार जारी राखेका छन् । परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघ र सहयोगी देशहरुलाई पत्र लेखेर नेपालीहरुलाई पनि उद्धार गरिदिन आग्रह गरेको छ ।