विराटनगर / घरेलु रक्सीलाई ब्रान्डिङका लागि सम्भाव्यता अध्ययन गर्न प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले गठन गरेको कार्यदलले प्रतिवेदन तयार गरेर सरकारलाई बुझाएको छ ।
कार्यदलका संयोजक तथा प्रदेश योजना आयोगका सदस्य डा। पूर्ण लोक्समले १० जिल्लाका २२९ घरेलु मदिरा उत्पादकहरू, जनप्रतिनिधिलगायतसँग जानकारी संकलन गरेर प्रतिवेदन तयार गरिएको बताए ।
सोमबार सामाजिक विकासमन्त्री उषाकला राईलाई समितिका पदाधिकारीले अध्ययन प्रतिवेदन हस्तान्तरण गरे । मन्त्री राईले ‘ब्यान्ड भर्सेस ब्रान्ड’ अभियान चलाएर प्रदेश सरकारको गौरवको योजनाको रूपमा घरेलु रक्सीको ब्रान्डिङमा जोड दिँदै आएकी छन् ।
नेपाली घरेलु मदिराको उत्पादन सुरु भएपछि यो विश्वमा उत्पादित भन्दा सयौँ गुणा राम्रो गुणस्तरको हुने उनको दाबी छ । उनले गुणस्तरीय उत्पादनका लागि वैज्ञानिक, प्राविधिक, औद्योगिक क्षेत्र, कानुन विज्ञ लगायतको टिम निर्माण गरिने जानकारी दिइन् ।
सामाजिक विकास मन्त्रालयले नेपाली घरेलु मदिरा ब्रान्डिङ तथा बजारीकरणका लागि गठन गरेको ‘ब्यान्ड भर्सेस ब्रान्ड’ अवधारणा सम्भाव्यता अध्ययन कार्यदलले गठन गरेको थियो ।
प्रदेशमा रहेको श्रोत साधन परिचालन गरेर आम्दानी गर्न सकिने देखेरै नै यो अवधारणालाई अघि सारिएको राई बताउँछिन् ।
“प्रदेश सरकारले कोदो उत्पादन हुने स्थानको छनोट गरेर कोदो लगाउन सुरु गर्नेछ,” उनले भने । गाउँपाखामा रहेको बनमारा उखेलेर कोदो रोप्नेसम्मको तयारी रहेको उनको कथन छ ।