सात श्रीमती । १९ छोरा । १२ छोरी । १७ बुहारी । ४७ नाति । ३२ नातिनी । १२ पनाति । १० पनातिनी । छोरीपट्टीका ज्वाइँ र छोराछोरी गणना गर्ने हो भने त दुई सय बढी लालाबाला । 

सन्तानले डाँडाकाँडा ढाकेका लालबहादुर विष्ट (दाङ्खाली बा) को ९० वर्षको उमेरमा गत साउन ७ गते देहान्त भयो । 

दिवंगत दाङ्खाली बाको घर पुगेपछि लाग्थ्यो दुःखद क्षण तर ‘अभूतपूर्व’ कर्म । विदेशमा रहेका ८ छोराबाहेक छोरा–छोरी र बुहारी गरी ४६ जना एकै ठाउँ क्रिया कर्ममा सहभागी छन् ।

११ छोरा, १२ छोरी, १७ बुहारी, ६ आमा एउटै कोरो–ढिकुरोमा छन् ।  

उदयपुरको बेलका नगरपालिका ४ कटारीस्थित विष्ट निवासमा सोमबार १२ औं दिनको कर्म चलिरहेको थियो । कोरोमा बसेका सबैलाई पण्डितले पालैपालो क्रियाकर्ममा सहभागी गराउँदै थिए । 

सानो मूल घर, ठूलो संख्यामा क्रियापुत्री । घर खचाखच देखिन्थ्यो । दुःखको कर्म पनि यसरी उत्साहपूर्वक हुँदैथियो भन्न सकिंदैन तर देखिन्थ्यो त्यस्तै ।