जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएको छ ।

 केहीबेर अघि भएको खेलमा चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सकेनन् । उनले निर्धारित दूरी १२ दशमलव ९१ सकेण्डमा पूरा गरे । नौ खेलाडी सम्मिलित सो समूहमा चौधरी आठौँ भए । उनले आफ्नै प्रदर्शनमा समेत सुधार गर्न सकेनन् ।

यसअघि चौधरीले १०० मिटर दौड पूरा गर्न १२ दशमलव ५५ सकेण्ड खर्चिएको रेकर्ड छ । चौधरीको खेल प्रदर्शनसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको प्रतिस्पर्धा सकिएको छ ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी  कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले यसअघि खेलिसकेको छ । चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिएको छ ।

परियारले महिला १० मिटर एयरराइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रिस्टाइल तथा सिंहले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेको थियो । पौडीमा शाह र सिंह तथा सुटिङमा परियारले आ–आफ्नो खेलमा राष्ट्रिय कीर्तिमान बनाएको थियो ।