त्याग र बलिदानको प्रतीकका रुपमा मनाइने इद उल अजहा (बकर इद) पर्व आज देशैभरि उत्साहका साथ मनाइएको छ । 

कोरोना भाइरसको संक्रमणका बावजुद सुरक्षाका मापदण्ड अपनाउँदै मस्जिदमा नमाज पढेर बकर इद मनाइएको छ । बिदा कटौतीमा परेका कारण दुःखी भएका मुस्लिम समुदायले यो वर्ष बकर इद उत्साहका साथ मनाएका छन् । सरकारले पर्वमा सार्वजनिक बिदा दिएपछि मुस्लिम समुदायमा उत्साह थपिएको धरान अन्जुमन इस्लामियाका सचिव अफाक अहमदले बताए । 

मक्का मदिनामा हजका लागि नेपालबाट समेत हजारौंको संख्यामा अरब जाने गरिए पनि कोरोना संक्रमणका कारण यो वर्ष नेपालबाट हजमा समावेश नभएको सचिव अहमदले बताए । धरानको पुरानो बजारस्थित मस्जिदमा बिहान ६ बजे नमाज प्रार्थना सकी धार्मिक आस्थाअनुसार  कुर्बानी गरी पर्व मनाइएको छ । 

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–उल–अजहा अर्थात् बकर इद (हिजरी संवत् १४४२) को अवसरमा मुसलमान समुदायलगायत सम्पूर्ण नेपालीजनमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरी मनाइएको छ ।

इस्लामले बकर इद (इद–उल–अजहा) र इद–उल–फितर गरी दुईवटा पर्व प्रचलनमा ल्याएअनुसार इद–उल–फितर अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद इस्लाम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने र आपसमा अंकमाल गर्दै शुभकामना आदान–प्रदान गर्ने प्रचलन रहिआएको छ । यसरी मनाइने ‘बकर इद’ले सामाजिक सद्भाव र एकता अभिवृद्धि गर्ने विश्वास लिइन्छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा मनाइने यस प्रकारका चाडपर्वहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको बताउँदै सचिव अहमदले कोभिड–१९ को महामारीबाट आफू बच्न र अरुलाई बचाउन नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरी घरमै धार्मिक क्रियाकलाप गर्न अनुरोध गरेका छन् ।