भद्रपुर / निर्माण कम्पनीले इस्टिमेट विपरीत रोड डिभाइडरको फलामे रेलिङ प्रयोग गरेको भन्दै स्थानीयको चर्को विरोधपछि कचनकवल गाउँपालिकाले सो रेलिङ हटाउन लगाएको छ ।
मेची राजमार्ग अन्तरगत चाराआली–केचना सडक खण्डको कचनकवल गाउँपालिका– ६ स्थित बनियानी चोकमा बनाइएको रोड डिभाइडरमा निर्माण कम्पनीले गाउँपालिकाको इस्टिमेट भन्दा फरक (गुणस्तरहीन) रेलिङ लगाएको भन्दै स्थानीयले त्यसको चर्को विरोध गरेका थिए ।
गुणस्तरहीन रेलिङ लगाउँदै गरेको स्थानीयले फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट समेत गरेका थिए । ६ नम्बर वडा अध्यक्ष कुलबहादुर कार्कीले फेसबुकमा फोटो पोस्ट गर्दै बनियानीको डिभाइडरको रेलिङमा व्यापक भ्रष्टाचार हुनबाट रोक्न सफल हुँदै कमसल सामग्री खोल्न लगाइयो लेखेका थिए । निर्माण गरिएको रोड डिभाइडर उनकै वडामा पर्छ ।
घट्ना सार्वजनिक भएपछि स्थानीयको चर्को विरोधपछि डिभाइडरको आधा भागमा लगाइसकेको फलामे रेलिङ गाउँपालिकाको आदेशमा निर्माण कम्पनीले सोमबार बिहान हटाएको छ । रेलिङ हटाउनु अघि गाउँपालिका अध्यक्ष अञ्जरा आलम र विघटित प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङ्देनले समेत स्थलगत अनुगमन गरेका थिए ।
चाराआली–केचना सडक खण्ड कालोपत्रे बनेपछि बनियानी चोकको सौन्दर्यतासँगै वान वे बनाउने आर्थिक वर्ष ०७५÷०७६ मा १५ लाख बजेट विनियोजन गर्दै गाउँपालिकाले ६ सय मिटर रोड डिभाइडर निर्माण गरेका थिए । त्यसपछि सो डिभाइडरमा ५ लाख ४० हजार खर्च गरेर गाउँपालिकाले ६ वटा सोलार बत्ती पनि जडान गरेको थियो ।
डिभाइडरको कामलाई निरन्तरता दिँदै गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷०७८ मा डिभाइडरको प्लास्टर र फिनिसिङ, फलामे रेलिङ, रङगरोगन, एउटा पानीको मोटर जडान, मल र माटो हाल्ने गरी एकमुष्ट ठेक्का आवहन गरेको थियो । गाउँपालिकाले २०७७ माघ २८ गते सो ठेक्का १८ लाख ३३ हजार २५७ रुपैयाँमा खुलाएको गाउँपालिकाका योजना अधिकृत केशव मैनालीले जानकारी दिए ।
गाउँपालिकाले ठेक्का आवहन गरेपछि एआरबी निर्माण सेवा धरमपुरले १२ लाख ५६ हजार २१० रुपैयाँ, गजबक्रम सापकोटा कन्स्ट्रक्सन कचनकवलले १५ लाख ५४ हजार ९८५ रुपैयाँ र मेरीडियन कन्स्ट्रक्सन बिर्तामोडले १५ लाख १९ हजार ५६० रुपैयाँ अङ्क तोकेर ठेक्का हालेका थिए ।
त्यसपछि ३२ प्रतिशत बिलो हालेका एआरबी निर्माण सेवा धरमपुरले सो कामको ठेक्का पाएको योजना अधिकृत मैनालीको भनाई छ । तीन महिना समयावधि तोकिएको सो ठेक्का एआरबीसँग गाउँपालिकाले चैतमा सम्झौता गरेको गाउँपालिका इन्जिनियर अमित ढुङ्गानाले बताए ।
रेलिङ बनाउँदा डेढ र एक इन्चको फलामे पाइप १२ देखि १३ केजीसम्मको क्षमताको हाल्नु पर्ने इस्टिमेटमा उल्लेख भएको उनले बताए । निर्माण कम्पनीले बनाएर ल्याएको रेलिङको क्षमता ९ देखि ११ केजीसम्मको मात्र देखिएकोले भत्काउन लगाइएको उनले बताए ।
इस्टिमेट भन्दा फरक क्षमताको रेलिङ बनाएर ल्याएको र आधा भागमा लगाइसकेकोले तत्काल निर्माण कम्पनीलाई खोल्न आदेश दिको उनको भनाइ छ । त्यस पश्चात् कम्पनीका मान्छेले सो रेलिङ खोलेर लगेको उनले बताए । इस्टिमेटमा उल्लेख भए बमोजिमको रेलिङ बनाएर लगाउन निर्माण व्यवसायी पवन खड्कालाई मौखिक आदेश दिइसकेको उनको भनाई छ ।