धरान । सडकका कुकुरहरूको पालनपोषण गर्दै आएको युवाको समूह ‘आत्मोसर्ग धरान’ ले धरान–१ स्थित अपाङ्ग पुनस्र्थापना गृहका अपाङ, असहायलाई खाना खुवाएका छन् ।
आत्मोसर्ग धरानले सडक कुकुरहरूलाई खाना खुवाउँदै आएका थिए । उनीहरूले एकमहिना अगाडिदेखि धरानमा खाना खुवाउँदै आइरहेका थिए । सडक कुकुरलाई खाना खुवाउन थालेको एक महिना पुगेको अवसरमा अपाङ्ग–असहायलाई खाना खुवाइएको आत्मोसर्गका संयोजक रुसल श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार सडक कुकुरहरूलाई कसैले पनि लालनपालन नगर्ने भएकाले मानवीयताका लागि खाना खुवाउँदै आइरहेको छौं । हरेक महिनाको एक दिन भने असहाय तथा गरिब दुःखीलाई खाना खुवाउने कार्यक्रम रहेको उनले बताए ।
कक्षा १२ मा अध्ययनरत श्रेष्ठ जस्तै युवाहरू मिलेर काम गरिरहेका छन् । गृहमा रहेका २७ जना बालिबालिका, तथा वृद्धवृद्धालाई खाना खुवाएका हुन् । युवाहरूको लक्ष्य सडक कुकुरहरूको उपचार, लालनपालन र खानपानका लागि धरानमा पुनस्र्थापना गृह सञ्चालन गर्ने रहेको छ ।
‘मान्छेले त मागेर पनि खाला, तर कुकुरले त त्यो पनि सक्दैन । अझ सडक कुकुरलाई खासै वास्ता पनि गर्दैनन्’ उनले भने, ‘कुकुरहरूको पनि आफ्नो जीवन त हुन्छ । उनीहरूको संरक्षण गर्नका लागि यो संस्था गठन भएको हो ।’ यसको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ । संस्थाको नारा नै ‘मानवीयताको रक्षा गरौं, दुःखीहरूको सेवा गरौं’ भन्ने रहेको छ ।