संखुवासभा । जिल्लाको खाँदबारी नगरपलिका वडा नं. ४ सेकाहामा निर्माणाधिन सेफ्टी ट्यांकीमा पस्दा बेहोस भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।  

आइतबार शौचालयको नयाँ सेफ्टी ट्यांकीभित्रको ढलानको सटिङ खोल्ने क्रममा ट्यांकीभित्र छिरेका खाँदबारी– ४ सेकाहाका २५ वर्षिय ईश्वर राई र ३३ वर्षिय तारावीर गुरुङको मृत्यु भएको हो ।

स्थानीय नरेश गुरुङले बनाएको नयाँ घरको सेफ्टिी ट्यांकीभित्रको ढलानको सटिङ खोल्न भनेर ईश्वर ट्यांकीभित्र पसेका थिए । उनी भित्र बेहोस भएको देखेपछि सहकर्मी तारावीर ट्यांकीभित्र पस्दा उनी समेत बेहोस भएका थिए ।

त्यसपछि स्थानीयले ट्यांकी फुटाएर दुवैजनालाई बाहिर निकालेका थिए । तत्काल उपचारको लागि जिल्ला अस्पताल खाँदबारी ल्याइए पनि त्यसको केही समयपछि मृत्यू भएको वडाध्यक्ष सजित राईले बताए ।

शव सोमबार पोस्टमार्टम गरि आफन्तलाई  जिम्मा लगाईएको प्रहरी जनाएको छ ।