लुकासा /अफ्रिकी मुलुक जाम्बियाका प्रथम राष्ट्रपति केन्नेथ काउन्डाको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । 

जाम्बिया मन्त्रीपरिषद्का सचिव सिमोन मिटीले स्थानीय समय अनुसार बिहीबार दिउँसो साढे २ बजे  उनको निधन भएको पुष्टि गरेको हो । 

उनलाई उपचारका लागि गत सोमबारदेखि राजधानी लुकासामा रहेको सैन्य अस्पतालमा भर्ना गरिएको थियो । 

निमोनियाका कारणले उनको निधन भएको उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । उनलाई यसअघि कोरोनाभाइरसको सङ्क्रमण भएको पनि भनिएको थियो । 

जाम्बियाका राष्ट्रपति एडगर लुँगुले मुलुकका प्रथम राष्ट्रपतिको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

‘राष्ट्रको अभिभावकको रुपमा रहनु भएका प्रथम राष्ट्रपति काउन्डाको निधनको खबरले म स्तब्ध भएको छ, यो दुःखद समयमा म उनको परिवारप्रति समवेदना व्यक्त गर्न चाहन्छु’, उनले सामाजिक सञ्जाल फेसबुकमा लखेका छन् ।  

राष्ट्रपति लुँगुले प्रथम राष्ट्रपति काउन्डालाई अफ्रिकी क्षेत्रकै अनुकरणीय व्यक्तित्वको रुपमा चर्चा पनि गरेका छन् । 

जाम्बिया बेलायती उपनिवेशबाट मुक्त भएपछि उनी सन् १९६४ मा मुलुकको पहिलो राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए । 

सन् १९५० को दशकमा भएको बेलायती उपनिवेश विरुद्धको आन्दोलनमा उनी प्रमुख आन्दोलनकारी नेताका रुपमा सक्रिय रहेका थिए । आन्दोलन सफल भएपछि सन् १९६४ मा सुरु भएको उनको राष्ट्रपतिको कार्यकाल भने सन् १९९१ सम्म रहेको थियो ।