धरान । अन्ततः सर्जिओ रामोसले स्पेनिस क्लब रियल मड्रिड छाड्ने भएका छन् । रियलमा उनको १६ वर्षको लगानी छ । 

रियलका कप्तानसमेत रहेका रामोसका लागि आजको दिन निकै दुःखदायी हुने अनुमान गरिएको छ । किनकि चालु युरो कप २०२० मा उनी छनौट भएनन् । स्पेनको राष्ट्रिय टिमबाट खेल्दै आएका रामोसले युरो कपमा छनौट गरिएको थिएन । 

रियलसँग उनको जुन ३० मा सम्झौता सकिँदै थियो । रियलले रामोसलाई एक वर्षको तलबमा १० प्रतिशत घटाउने सम्झौताको प्रस्ताव राखेको थियो । जसलाई उनले स्वीकार गरेनन् । यद्यपि उनले कम्तीमा दुई वर्षको करार सम्झौता गर्नुपर्ने अडान राखेका थिए । 

आज १२ः३० मा उनलाई रियलले बिदा गर्दै छ । उनको बिदाइमा रियलका अध्यक्ष फ्लोरेन्टिनो परेज पनि सहभागी हुँदै छन् । 

रियलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज १२ः३० बजे डिफेन्डर रामोसले रियलका लागि दिएको योगदानको चर्चा गरिँदै बिदाइ गरिनेछ । बिदाइको क्षणमा क्लबका अध्यक्ष फ्लोरेन्टिनो परेजसँगै क्लबका महत्त्पूर्ण व्यक्तित्वहरू सहभागी बन्दैछन् ।’

बिदाइपश्चात् रामोस मिडियासँग भर्चुअल पत्रकार सम्मेलन गर्नेछन् । १६ वर्षे रियलमा रहँदा उनले चारपटक च्याम्पियन्स लिग, चारपटक क्लब वल्र्डकप, तीनपटक युरोपियन सुपर कप, पाँचपटक ला लिगा र कोपा डेल रे, र चारपटक सुपरकोपा डे स्पेनाको उपाधि जितेका छन् । उनकै कप्तानीमा सन् २०१० को विश्वकप पनि जितेका थिए । 

उनले पत्रकार सम्मेलनमा आफू रियल छाड्नुको कारणबारे बताउने छन् । रियल छाड्नुको दुःखदायी क्षणबारे बताउँदै उनी निकै नै विक्षिप्त हुने अनुमान गरिएको छ । हालसम्म उनले नयाँ क्लबबारे केही बताएका छैनन्, तर, पनि इंग्लिस क्लबमा जाने अनुमानहरू व्यापक रूपमा गरिएका छन् । उनी म्यानचेस्टर युनाइटेड वा सिटीमा आवद्ध हुने बताइएको छ । 

तर, उनी आफैले भने यसबारेमा कुनै कुरा बाहिर ल्याएका छैनन् ।