कोपा अमेरिका फुटबलको उद्घाटन खेलमा भेनेजुएलालाई ३–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले सुखद विजयी सुरुवात गरेको छ ।

आयोजक ब्राजिललाई जित दिलाउन स्टाडियो नेसनल डी ब्रासिलियामा मार्कविवन्होस, नेयमार र गार्बियल बर्बोसाले एक एक गोल गरे ।

खेलको २३ औं मिनेटमा मार्कविवन्होसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाए ।

खेलको २६ औं मिनेटमा रिचार्लीसनले गोल गरे पनि उनी अफसाइड रहँदा गोलले मान्यता पाएन ।

खेलको ६४ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाए ।

डानिलोलाई भेनेजुएलाका योहानले पेनाल्टी बक्स क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टी पाएको थियो । जसमा नेयमारले सहजै गोल गरे ।

ब्राजिलका लागि नेयमारको यो ६७ औं गोल हो । पेलेको कीर्तिमान भन्दा नेयमार १० गोलले पछि रहेका छन् ।

खेलको ८९ औं मिनेटमा गार्बियलले गोल गर्दै ब्राजिललाई ३–० को जित दिलाए । उनले नेयमारको पासमा गोल गरेका हुन् ।

यस जितसँगै समूह ’बी’ मा रहेका ब्राजिलले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ । भेनेजुएलाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

भेनेजुएला समूहको पुछारमा रहेको छ ।