युक्रेनलाई ३–२ गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

आइतबार राति आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक एक गोल गरे ।

युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ५२ औं मिनेटमा कप्तान विनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा वेगहोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० को अग्रता दिलाए ।

दुई गोलले पछि परेपनि युक्रेनले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ७५ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए ।

खेलको ७९ औं मिनेटमा युक्रेनका रोमनले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो ।

तर, खेलको ८५ औं मिनेटमा डम्फ्राइजले गोल गर्दै नेदरल्यान्ड्सलाई ३–२ को जित दिलाए । उनको यो पहिलो अन्तराष्ट्रिय गोल समेत हो ।

जितसँगै समूह ’सी’ को नेदरल्यान्ड्सले महत्वपूर्ण ३ अंक जोडेको छ ।

नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा रहेको छ । ३ अंक जोडेको अष्ट्रिया शीर्ष स्थानमा रहेको छ ।

युक्रेनले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । युक्रेन तेस्रो स्थानमा रहेको छ ।