रोमानियाको बुचारिस्टमा आइतबार राति नर्थ म्यासेडोनियालाई ३–१ गोल अन्तरले पराजित गर्दै अष्ट्रियाले १६ औं संस्करणको युरोकप फुटबलमा सुखद सुरुवात गरेको हो ।

अष्ट्रियालाई जित दिलाउन स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिकले एक एक गोल गरे ।

म्यासेडोनियाका गोरान पाण्डेभले एक गोल फर्काए ।

खेलको १८ औं मिनेटमा स्टेफानले गोल गर्दै अष्ट्रियालाई सुरुवाती अग्रता दिलाएका थिए । मार्सेलको पासमा उनले गोल गरेका थिए ।

तर,२८ औं मिनेटमा गोरानले गोल गर्दै म्यासेडोनियालाई १–१ गोलको बराबरीमा फर्काए । उनले अष्ट्रियाका गोलकिपर डानिलले फुत्काएको बलमा गोल गरेका थिए ।

यससँगै गोरान युरोकपमा गोल गर्ने दोस्रो सर्वाधिक बढी उमेरका खेलाडी बनेका छन् । उनले ३७ वर्ष २२१ दिनमा गोल गरेका हुन् । म्यासेडोनियाको यो युरोकपमा गरेको पहिलो गोल समेत हो ।

खेलको ७८ औं मिनेटमा माइकलले गोल गर्दै अष्ट्रियालाई २–१ को अग्रता दिलाए । उनले कप्तान डेभिड अल्बाको पासमा गोल गरेका हुन् ।

त्यसपछि खेलको ९० औं मिनेटमा लेइमरको पासमा मार्कोले गोल गर्दै अष्ट्रियालाई ३–१ को जित दिलाए ।

युरोपियन च्याम्पियनसिपमा अष्ट्रियाको यो ऐतिहासिक पहिलो जित हो । यस अघि अष्ट्रियाले जित निकाल्न सकेको थिएन ।

यस जितसँगै समूह ’सी’ को अष्ट्रियाले महत्वपूर्ण ३ अंक जोडेको छ ।

अष्ट्रिया समूहको शीर्ष स्थानमा रहेको छ ।

म्यासेडोनियाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।