धरान । एउटा सामान्यभन्दा सामान्य नागरिक तथा व्यापारीलाई कसरी राजनीतिले गाँजेको हुन्छ भन्ने आमबुझाइ सायदै कमै हुन्छ । 

तर, यस्तो कथा बोल्ने भारतीय सिनेमा उद्योगमा एउटा फिल्म छ । हुनत् बलिउड उद्योगमा राजनीतिसँग जोडिएका थुप्रै फिल्म छन् । नेपालीमा पनि बनेका छन् । तर, एउटा आम व्यापारीलाई राजनीतिले कसरी प्रभावित बनाउँछ । ऊ कसरी मुख्यमन्त्रीको हत्या गर्न पुग्छ । यही कथा बोकेको आम फिल्ममध्येको एक हो, कुलदीप पटवाल । 

यस फिल्ममा भारतका चर्चित अभिनेता तथा अभिनेत्रीहरूको उपस्थिति छैन । छ त केवल सामान्य नागरिक जसले फिल्मलाई २ घण्टा २ मिनेटसम्म बाधेर राख्न सफल भएका छन् । यी कलाकार सामान्य कलाकार हुन् । जसले बलिउडमा थुप्रै फिल्म त खेलेका छन् । तर, सामान्य भूमिकामा देखिएका छन् अर्थात् उनलाई सहायक भूमिकामा मात्रै दर्शकले पर्दामा देखेका छन् । 

फिल्मको कहानी यसरी सुरु हुन्छ । ‘ह्वाइ डुनट अन्डरस्ट्यान्ड, आइ एम ब्लाडी चिफमिनिस्टर अफ दिस स्टेट’ क्रोधित आवाजमा कसैले भनेको हुन्छ । त्यही बेला म राजनीतिमा आउनै हुँदैनथ्यो यस्तै संवादबाट फिल्म अगाडि बढ्छ । 

फिल्ममा मुख्यमन्त्रीको कार्यक्रम भएको स्थल देखाइन्छ । जसले तेस्रोपटक मुख्यमन्त्रीको पदमा चुनाव जितेका हुन्छन् । मुख्यमन्त्रीलाई झल्याकझुलुक देखाइन्छ । तीन राउन्ड गोली चलेको आवाज आउँछ । 

त्यसपछि ठीक १५ मिनेट अगाडिका दृष्यहरूबाट फिल्म अगाडि बढ्छ । जहाँ भारतको भारतसार नामक एउटा गाउँ देखाइन्छ । त्यहाँ आम दैनिकीलाई देखाइन्छ । त्यसपछि मुख्यमन्त्री बरुण चड्डाले तेस्रोपटक चुनाव जितेको भनी प्रचार गरिएको हुन्छ । उनको जयजयकार गरिँदै गरिएको हुन्छ । हात हल्लाएर मुख्यमन्त्रीले स्वागत गरिरहेकै बेला उनीमाथि अमुक व्यक्तिले गोली चलाएको देखाइन्छ । उनीलाई तीन राउन्ड फायर हुन्छ । 

कसले गोली चलायो भन्ने नखुले पनि एक आम युवामाथि हातपात भएको देखाइन्छ । त्यही व्यक्तिलाई प्रहरीले पक्राउ गरी हिरासतमा पुर्याउँछ । मुख्यमन्त्री कार्यालयमा मन्त्री, नेताहरू भेला भएको देखाइन्छ । घटनामा प्रमुख प्रतिपक्षीको काम भएका हुनसक्ने आशंकाहरू गरिन्छन् । टिभी रिपोर्टरहरूले नेताहरूलाई विभिन्न प्रश्नहरू गर्छन् । त्यसपश्चात् प्रहरी इन्स्पेक्टरलाई देखाइन्छ । जो कपडा बदल्दै गरेका हुन्छन् । अजय राठौर नाम गरेका प्रहरी अर्का अधिकारीबीच पक्राउ परेका व्यक्तिले केही पनि मुख नखोलेकोबारे चर्चा हुन्छ । 

त्यसपछि देखाइन्छ मुख्य कलाकार दीपक दोब्रियाललाई । जसको नाम नै कुलदीप हुन्छ । उनीमाथि मुख्यमन्त्रीको हत्या गरेको आरोप लागेको छ । आमा, बुबा, श्रीमती आएर उनलाई घटनाबारे बुझ्ने प्रयास गर्छन् । तर, उसले त्यसबारे केही बताउँदैन । फिल्म विस्तारै नोस्टाजियामा फर्किन सुरु हुन्छ । 

त्यसपछि नै कथाले नयाँ रूप लिन थाल्छ । कुलदीप जो सामान्य पसले हुन्छन् । जो ठीकठाक चलिरहेको पसल घाटाका कारण अर्को व्यवसाय रोज्न पुग्छन् । ठेलामा सब्जी लिएर सडक पेटीमा बसेका हुन्छन । तर प्रहरीले उनीहरूमाथि एकातिर ज्यादती गरेको देखाइन्छ भने अर्कोतिर हरेक दिन प्रहरीलाई नजराना दिनुपर्ने बाध्यता हुन्छ । त्यही बेला मुख्यमन्त्री बरुण चड्डाले गरिदिएको निर्णयले घटनाले नयाँ रूप धारण गर्छ । 

कथाको ट्वीस्ट त्यहीबाट आउँछ, एउटा सामान्य मान्छेलाई मुख्यमन्त्रीको हत्याको आरोप पुष्टि गर्न उनले के के गर्नुपर्छ भन्ने फिल्ममा देखाइएको छ ।  जसका लागि पूरै फिल्म हेर्नुपर्ने हुन्छ । रेमे जोशीको निर्देशनमा बनेको फिल्ममा मुख्य कलाकारका रूपमा दीपक दोब्रियाल, गुलसन देबिहा, राइमा सेन रहेका छन् । सहायक कलाकारका रूपमा प्रविन देबदास, प्रियंका सेतिया, अनुराग अरोरालगाय छन् ।