खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारको मनकामना वृद्धाआश्रम, गरुकुल तथा आश्रय लिइरहेकाहरूलाई खाद्यान्न सहयोग गरिएको छ । नेपाली कांग्रेस संखुवासभाका सभापति दीपनकुमार श्रेष्ठको संयोजनमा प्राप्त रकम र तरुण दलका अध्यक्ष टकमान घलेमार्फत प्राप्त खाद्यान्न सामाग्री शनिबार हस्तान्तरण गरिएको हो ।
कारोना महामारीका कारण लकडाउन हुँदा विशेष समस्यामा परेको र सरोकारवाला निकायले वास्ता नगरेको भन्दै आश्रममा आश्रय भएकाहरूलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको नेपाली कांग्रेसका जिल्ला सभापति दीपनकुमार श्रेष्ठले बताए । मनकामना धामका पुजारी, मनकामना गुरुकुलका विद्यार्थी, शिक्षक तथा वृद्धाआश्रमका ज्येष्ठ नागरिकहरूलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो । मनकामनामा रहेका ४८ जनालाई जनही एक बोरा चामल, दाल, नुन, तेल एक एक केजी र एक एक पोका तेल हस्तान्तरण गरिएको छ ।
खाँदबारीमा जन्मिएका अमेरिकामा बसोबास गर्ने नेपाली जनसम्पर्क समितिका उपसभापति एवम् नेपाली कांग्रेस संखुवासभाका सल्लाहकार धर्मराज श्रेष्ठबाट ४० हजार, संखुवासभा अमेरिका जनसम्पर्क नेपाली कांग्रेसका बरिष्ठ उपाध्यक्ष महिपाल घिमिरेले २३ हजार १ सय ५ रुपैयाँ पठाएको र नेपाल तरुण दल जिल्ला कार्य समितिका जिल्ला अध्यक्ष टकमान घलेबाट २१ हजार पाँच सय रुपैयाँ गरी कुल ८४ हजार ६ सय ५ रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, डिएसपी नवराज मल्ल, पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीलगायतको उपस्थितिमा सामग्री दिइएको हो ।
बाल गृहलाई पनि खाद्यान्न
शनिबार नै संखुवासभाको खाँदबारी नगरपालिका ७ को मकालु त्रिशक्ति समूह माट्स नेपालका बाल गृहका बालबालिकाका लागि भन्दै तरुण दल जिल्ला कार्य समिति संखुवासभाले खाद्यान्न सामाग्री सहयोग गरेको छ । तरुण दल जिल्ला कार्य समिति संखुवासभाका अध्यक्ष टकमान घलेमार्फत बाल गृहलाई सहयोग गरेको हो ।
समितिमार्फत १० हजार ४ सय ४० बराबरको खाद्यान्न ५ बोरा चामल पाँचपाँच केजी नुन र दालसँगै ५ पोका तेल सहयोग गरेको हो । ९ जना आश्रयविहीन बालबालिकाहरू रहेको बाल गृह दाताको सहयोगबाट सञ्चालन भइरहेको छ ।