विजयपुर । आमाको किरियामा बस्दा एक छाक खान पनि समस्या भएका धरान–१६ नौलो बस्तीका एकबहादुर विश्वकर्मालाई सहयोग जुट्न थालेको छ । 

५९ वर्षीय विश्वकर्मालाई आर्थिक अभावका कारणले आमाको मृत्यु संस्कार गर्न पनि समस्या भएको थियो । विश्वकर्माले भने ‘समाजमा चलेको रीतिरिवाजअनुसार गर्नै प¥यो, अलिनो खानुपर्ने आफ्नो घरमा एक दाना कागती पनि छैन । घिऊ पनि छैन, किन्ने पैसा पनि थिएन, वडाध्यक्षलाई भन्न पनि सुरुमा त लाज लाग्यो, तर मर्नु भन्दा बौलाउनु निको भनेर वडाध्यक्षलाई फोन गरेँ’ उनले भने । 

अध्यक्ष दिलकुमार गिरीलाई उक्त समस्या बताएपछि अध्यक्ष गिरी उक्त कुरा सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरे । सोही कारण अहिले उनलाई सहयोग ज्ट्न थालेको छ । बिहीबार विकलाई धरान–३ जल्पारोडका गङ्गाप्रसाद श्रेष्ठ र धरान १४ का सुरेन्द्र घिमिरेले ५–५ हजार रुपैयाँ दिए । त्यस्तै युवा व्यवसायी सन्तोष विकले २५ सय बराबरको खाद्यान्न दिए । 

विकले एउटा आँखा देख्दैनन् । उनका तीन छोरामध्ये साथमा एकजना छन् । उनको पनि केही इलम छैन । पत्नी इन्द्रकुमारीसहित अहिले चारजनाको परिवार छ । उनी विश्वकर्मा निर्माण उद्योगमा मजदुरी गर्दै आएका थिए । लकडाउन भएपछि काम पनि बन्द भयो । 

यस्ता बेलामा दलित हकहितमा काम गर्ने भन्दै आफूलाई समाजसेवी कहलाउने दलित अगुवा तथा संघसंस्थाको उपस्थिति नदेख्दा त्यहाँका स्थानीय अचम्मित बनेका छन् ।