इटलीको उत्तरी क्षेत्रमा रहेको पिडमोन्टस्थित माजीओरी तालनजिकै एउटा केबल कार खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको उद्धारकार्यमा संलग्न अधिकारीले आइतबार जनाएका छन् ।

यस पहिले मृतक सङ्ख्या नौ भएको बताइएको थियो । ‘केबलकारमा यात्रा गरिरहेका १० जनामध्ये आठको मृत्यु भएको छ भने घटनामा गम्भीर घाइते दुई बालबालिकालाई उपचारका लागि टुरिनस्थित अस्पताल पठाइएको छ,’ उद्धारकार्यमा संलग्न अधिकारीले बताए । 

स्थानीय आपत्कालीन सेवासम्बन्धी निकायका अनुसार स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेको केबल कार दुर्घटनामा परेको हो । अल्पाइन रेस्क्यू र आपत्कालीन हेलिकप्टर सेवा उद्धार कार्यमा खटिएका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

इटलीका सञ्चारमाध्यमका अनुसार दुई बालबालिकालाई घटनास्थलबाट अस्पताल पु¥याइएको छ ।

आपत्कालीन सेवासम्बन्धी निकायले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिरमा जंगलमा दुर्घटनाग्रस्त केबलकार देख्न सकिन्छ ।