मेची प्रादेशिक अस्पताल भद्रपुरमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्याङ्क निर्माण गर्नका लागि सरकारले रु नौ करोड बजेट निकासा गर्ने निर्णय गरेको छ ।
सङ्घीय अर्थ मन्त्रालयले देशका २६ अस्पताल र नौवटा प्रादेशिक अस्पतालका लागि रु दुई अर्ब ९५ करोड २० लाख बजेट निकासा गर्ने निर्णय गरेको हो ।
बजेट निकासा भएका अस्पतालमा मेची अस्पताल पनि परेको हो । मेची अस्पतालका लागि प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयमार्फत सो बजेट निकासा हुने मेची प्रादेशिक अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले बताए ।
अहिले अस्पतालमा कोरोना सङ्क्रमितको चाप बढेसँगै भेन्टिलेटर र अक्सिजनको समेत अभाव छ ।
अर्जुनधारा नपाका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको निधन
कोरोना सङ्क्रमणका कारण झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको सोमबार निधन भएको छ ।
नपाका लागि भारतीय दूतावासबाट प्राप्त भएको एम्बुलेन्स लिन काठमाडौँ पुगेर फर्किएपछि उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पचास वर्षीय खाम्याहाङ उपसचिवस्तरका कर्मचारी थिए।
गत वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि केही दिन आफ्नै क्वार्टरमा र त्यसपछि दुई दिन नगरपालिकाले स्थापना गरेको आइसोलेशनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बिएण्डसी अस्पतालमा भर्ना गरिएको थियो ।
उनको उपचारका क्रममा सोमबार निधन भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।