विजयपुर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको कोभिड–१९ अस्पतालमा कोरोना संक्रमितका कुरुवा बस्ने घर बन्ने भएको छ । 

प्रतिष्ठानमा १ सय बेडको कोभिड–१९ अस्पताल रहेको छ । अस्पतालमा भर्ना भएका संक्रमितका आफन्तले गुनासो गरेकाले निर्माण गर्न पहल गरेको धरान उपमहानगर प्रमुख तिलक राईले जानकारी दिए ।

उनले प्रतिष्ठान प्रशासनले पनि कुरुवाहरुलाई आवासको आवश्यकता रहेको जानकारी दिएकाले निर्माण गर्न लागेकोे बताए । उनले व्यवस्थित शौचालय, स्नानकोठासहित्को १८/८० को कुरुवा घर बनाउने जानकारी दिए ।

उनले भने, ‘गत वर्ष त्रसित भइयो कोही नजिक जाने अवस्था भएन, बिरामीले पनि एक्लोपन महसुस गरे, तर अहिले  सरुवा रोग भएपनि स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम बस्न सकिने रहेछ, त्यसैले कुरुवाहरुका लागि आवास चाहियो । उनले थपे, ‘बिरामी एक्लै बस्दा  केहि संका पनि रहने भएकाले आफन्त बस्नुहुन्छ, हेरचाह गर्नुहुन्छ भनेर निर्माण गर्न पहल गरेको हो ।

उनकाअनसार अनुमानित १५–२० लाख रुपैयाको लागत निर्माण हुनेछ । के कति लाग्छ? स्टिमेट गरिदैछ, उनले भने । प्रतिष्ठान प्रशासनसँग समन्वय गरेर निर्माण गर्न लागिएको हो ।

सामाजिक संस्था मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभा समितिको लगानीमा निर्माण गरिने भएको हो ।

शनिबार उपमहानगर प्रमुख तिलक राई, प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरीशंकर शाह, नेपाल अग्रवाल सभाका अध्यक्ष पवन अग्रवाल, मारवाडी सेवा समितिका अध्यक्ष अनिल अग्रबाल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद खनाललगायतको उपस्थितिमा निर्माण गर्ने सहमति भएको हो ।