प्राकृतिक प्रकोप अगालागी भए नियन्त्रण गर्ने दमकल पर्याप्त नहुँदा मोरङमा आगलागीबाट हुने क्षति वर्षेनी बढ्दो छ । 

जिल्लाको १७ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा मात्र दमकल छन् । ४ नगरपालिका र ७ गाउँपालिकामा अझै पनि दमकलविहीन छन् । प्रत्येक नगरपालिकामा दमकल हुनुपर्ने नीति भए पनि धेरै स्थानीय तहले ध्यान दिन सकेका छैनन् । बरु विलासी गाडी खरिद गर्ने, भाडामा लिएर चढ्ने र अन्य महँगा विलासी सवारी खरिद गरेका छन् । स्थानीय तहले दमकल खरिदमा भने त्यति चासो देखाएको पाइँदैन । 

निर्वाचित जनप्रतिनिधिले नगरपालिकाको बजेटबाटै विलासी साधन खरिद गरी चढिरहेका छन् तर विगतदेखि नै ठूलो समस्याका रूपमा रहेको आगलागी तथा अन्य प्राकृतिक प्रकोप न्यूनीकरण गर्न भने गम्भीर भएका छैनन् । 

हावाहुरीको मौसम सुरु भए पनि आगलागी नियन्त्रणका लागि दमकलको अभाव खड्किएको छ । दमकल नहुँदा जिल्लामा वर्षेनी आगलागीका दर्जनौं घटना हुने गरेका छन् । आगलागीबाट वर्षेनी करोडौं मूल्य बराबरका सम्पत्तिसमेत नष्ट हुने गरेको छ । मानवीय क्षतिसमेत हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

मोरङमा चालु आर्थिक वर्षमा आगलागीबाट २ करोड ४८ लाख ३१ हजार ५ सय  बराबरको क्षति भएको छ । ४ जना घाइते भएका छन् । ३९ घर, ११ गोठ र ११ चौपाया जलेका छन् । मोरङ प्रहरीका अनुसार चैत्र महिनामा मात्रै  १५ वटा आगलागीका घटना घटेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले बताए ।  

मोरङका बिराटनगर महानगरपालिका, सुन्दरहरैंचा, बेलबारी, उर्लाबारी, लेटाङ, रङ्गेली नगरपालिका र कानेपोखरी गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा अझै दमकल छैनन् । रतुवामाई, सुनवर्षी पथरीशनिश्चरे नगरपालिका, कटहरी, केराबारी, ग्रामथान, जहदा, धनपालथान, बुढीगङ्गा, मिक्लाजुङलगायतका स्थानीय तहमा अझै दमकल छैनन् । 

हावाहुरीको मौसममा आगलागीका घटना बढी हुने गरे पनि नियन्त्रणका लागि दमकल नुहुँदा लाखौं रुपैयाँको क्षति व्यहोर्न स्थानीय बाध्य छन् । यतिबेला हावाहुरी चल्ने, आगलागी हुने समय भएको हुँदा स्थानीय तहमा दमकल नहुँदा कतै आगलागी भएको खण्डमा समयमै नियन्त्रण गर्न नसक्दा थप क्षति हुने देखिन्छ ।