भद्रपुर। जिल्ला मालपोत तथा भूमिसुधार कार्यालय झापाका अधिकृतदेखि कम्प्युटर अपरेटर कर्मचारी फरार भएका छन् ।  बिर्तामोडका दिवङ्गत टुङ्गबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै कीर्ते बनाएर जग्गा अर्कालाई बिक्री गरेको पाइएपछि उनीहरू फरार भएका हुन् ।

झापा जिल्ला अदालतले घटनामा संलग्न भएको व्यक्तिको नाममा थुनछेकको आदेश जारी गरेपछि मालपोत अधिकृत चेतन अधिकारी, मोठ फाँटका सुब्बा हरि तिवारी, रजिष्ट्रेशन फाँटका सुब्बा चैतन्य घिमिरे, खरिदार हेम शर्मा र कम्प्युटर अपरेट झलेन्द्र बराल फरार भएको स्रोतले जनाएको छ । अदालतले पाँच जनामध्ये दुई जनाको नाममा थुनछेक आदेश जारी गरेको प्रहरी स्रोतले जनाएको छ । अन्य तीनजना घटनामा मुछिने डरले फरार भएको हुनसक्ने बताइएको छ । 

साबिक चारपाने गाविस–१ हाल बिर्तामोड नगरपालिका–१ अदुवा पुलस्थित पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको स्वर्गीय बस्नेतको कित्ता नम्बर ४१८३ को एक कठ्ठा पौने १४ धुर जमिन बिर्तामोड नगरपालिका–७ निवासी रञ्जु राईको नाममा रजिष्ट्रेशन पास भएको मालपोतमा उल्लेख छ । २०७७ साल माघ २१ गते राईको नाममा रजिष्ट्रेशन पास भएको छ ।

तर, जग्गाधनी बस्नेतको २०७६ साल साउन २४ गते मृत्यु भइसकेको थियो । नक्कली टुङ्गबहादुर बनेका व्यक्तिले ७१ वर्षको उमेर खुलाएर काठमाडौँ जिल्ला अदालतमा गएर अधिकृत वारेसनामा बनाएका थिए । उनले २०७६ असोज २८ गते बाह्रदशी गाउँपालिका–३ डाँगाबारी बस्ने ३९ वर्षीय मङ्गलसिंह राजवंशीको नाममा वारेसनामा बनाएको र राजवंशीले राईलाई सो जमिन ८४ लाख ३७ हजार ५ सय रुपैयाँमा बिक्री गरेको मालपोतको श्रेस्तामा देखिन्छ । फरार नभई उनीहरू बिदा बसेको मालपोत तथा तथा भूमिसुधार कार्यालयका प्रमुख योगेन्द्र दुलालले जानकारी दिए । 

सेवाग्राहीलाई सास्ती

माईपूर्वका कन्काई, बिर्तामोड, अर्जुनधारा, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, हल्दिबारी, कचनकवल र बाह्रदशी गरी आठ वटा स्थानीय तहको जग्गासम्बन्धी सबै काम मालपोत तथा भूमिसुधार कार्यालय झापा भद्रपुरले हेर्ने गरेको छ । विभागले त्यसका लागि कार्यालयमा प्रमुख मालपोत अधिकृतदेखि कम्प्युटर अपरेटरसम्म ५३ जना कर्मचारी दरबन्दीमा खटाएको छ ।

तर, हाल कार्यालयमा करिब एक दर्जन कर्मचारी छैनन् । जग्गा प्रकरणमा मुछिएका पाँचसहित तीनजना मालपोत अधिकृत, अन्य केही कर्मचारी बिदामा बसेका छन् । कार्यालयमा पर्याप्त कर्मचारी नहुँदा एक दिनमा हुने काम चार दिनसम्ममा पनि नसकिँदा सेवाग्राहीले सास्तीसँगै हैरानी बेहोर्नु परेको छ । सेवाग्राही कमल राईले भने, ‘जमिन रजिष्ट्रेशन पास गराउन आएको चार दिन भयो, अझै पनि काम सकिएको छैन ।’

मालपोत अधिकृत नहुँदा एक दिनमा हुने काम चार दिनसम्म धाउनु परेको अर्का सेवाग्राही मञ्जु राजवंशीले बताइन् । ‘मैले बुझे अनुसार पाँचजना अधिकृत हुनु पर्नेमा अहिले एकजना अधिकृतले सबै काम हेरिरहेका छन्, त्यसैले गर्दा पनि कार्यालयको कामकाजमा ढिलासुस्ती भएको हो’–उनले भनिन् ।

 यता प्रमुख मालपोत अधिकृत दुलालका अनुसार कार्यालयमा पाँचजना मालपोत अधिकृतको दरबन्दी रहेको छ । अहिले दुईजना अधिकृत मात्रै कार्यरत छन् । केही दिनअघि अधिकृत लक्ष्मी खरेलको बढुवा भएपछि उनी सरुवा भएर गइसकेका छन् । अन्य दुईको दरबन्दी खाली थियो ।

खरेल गएपछि अहिले तीनजना अधिकृतको दरबन्दी खाली भएको उनले बताए । कार्यालयमा कर्मचारी नहुँदा दैनिक कामकाज प्रभावित बनेको स्वीकार्दै प्रमुख मालपोत अधिकृत दुलालले भने, ‘विभिन्न घटनाका कारण अहिले अधिकृतहरू मालपोत आउन चाहँदैनन्, उनीहरू स्थानीय तहमा जान रुचाउँछन्, त्यसैले पनि समस्या उत्पन्न भएको हो ।’ ‘कामकाजलाई छिटोछरितो र सहज बनाउने हाम्रो दायित्व हो’ उनले भने, ‘त्यही भएर अधिकृत नहुँदा अहिले रजिष्ट्रेशन फाँटका सुब्बालाई अधिकृत सरहको जिम्मा दिएका छौँ ।’

दुई दर्जन व्यक्तिको नाममा थुनछेक आदेश

झापा जिल्ला अदालतले बस्नेत जग्गा प्रकरणमा मुछिएका व्यक्तिको नाममा थुनछेक आदेश जारी गरिसकेको प्रहरी स्रोतले जनाएको छ । अदालतले थुनछेक आदेश जारी गरेसँगै प्रहरी कार्यालय झापाले जग्गा प्रकरणमा मुछिएका व्यक्तिहरूलाई धमाधम पक्राउ गर्न थालिसकेको छ ।

झापा प्रहरीले अहिलेसम्म १० जना बढीलाई पक्राउ गरिसकेको छ । तर, उनीहरूको नाम प्रहरीले खुलाउन चाहेको छैन । पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले छानबिन गरिरहेको छ । प्रहरीले हालसम्म वारेसनामा भएका व्यक्ति बाह्रदशी–३ का मङ्गलसिंह राजवंशी, जग्गा किन्ने रञ्जु राई र उनका श्रीमान् गोविन्द राईसहित १० जनालाई पक्राउ गरेको हो ।

व्यक्तिको जग्गा हडप्ने उनीहरूमाथि  साङ्गठनिक गिरोह अपराधमा प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले अनुसन्धान थालेको पनि झण्डै दुई महिना बित्न लाग्यो । तर, अहिलेसम्म फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । यता प्रमुख मालपोत अधिकृत दुलालले बस्नेत जग्गा प्रकरणमा कर्मचारीको कुनै दोष नरहेको दाबी गरेका छन् ।

‘अदालतबाटै व्यक्तिको नाममा वारेसनामा आएपछि सोहीअनुसार कर्मचारीले जमिनको रजिष्ट्रेशन पास गरेको हो’ उनले भने, ‘कार्यालयका कर्मचारीलाई कसरी थाहा हुन्छ, को व्यक्ति सही वा गलत हो भनेर ? हामीले त अदालतको कागजअनुसार काम गरेका छौँ ।’ ‘कार्यालयका पुराना कर्मचारीहरू सरुवा भएर अन्यत्र जानु, अनि नयाँ कर्मचारी आएपछि घटना हुनु, यो बाहिरबाटै ठूलो योजना बनेको हुनुपर्छ’–उनले भने ।