धरान। लामो समय लकडाउन हुँदासमेत प्रदेश १ मा अघिल्लो वर्षको तुलनामा दुर्घटना बढेको पाइएको छ ।

अघिल्लो वर्ष १ हजार ४ सय ५ वटा दुर्घटना भएकोमा २०७७ सालमा २ हजार ६ सय ४५ वटा दुर्घटना भएको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो वर्ष दुर्घटनामा परी ३ सय ८१ जनाले ज्यान गुमाएकोमा यस वर्ष ४ सय २ जनाले ज्यान गुमाएका छन् । त्यस्तै दुर्घटनामा यस वर्ष ४ हजार ५४ जना घाइते भएका छन् भने अघिल्लो वर्ष २ हजार ४ सय १२ जना घाइते भएका थिए ।

अघिल्लो वर्षको तुलनामा सवारी नियम उल्लङ्घन गर्नेहरूबाट असुलिएको राजस्व रकम भने यस वर्ष घटेको छ । अघिल्लो वर्ष १७ करोड २४ लाख २४ हजार ५ सय राजस्व सङ्कलन भएकोमा यस वर्ष १४ करोड ८४ लाख ७८ हजार रुपैयाँ मात्र सङ्कलन भएको छ । अघिल्लो वर्ष २ लाख ६९ हजार १ सय ५ जना सवारी नियम उल्लङ्घनमा कारबाहीमा परेका थिए भने यस वर्ष २ लाख ३५ हजार ३ सय २३ जना कारबाहीमा परेका छन् ।

एक वर्षमा प्रहरीले अपराधसम्बन्धी ६ हजार ८ सय ७६ मुद्दा दर्ता गरेर ३८ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । प्रहरीले विभिन्न अपराधमा सजाय तथा जरिबाना फैसला भई फरार रहेका ७ सय ८७ जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकालाई ७ सय ४४ वर्ष कैद भुक्तान गराई ३ करोड ४३ लाख ५० हजार १ सय ४९ रुपैयाँ राजश्व सङ्कलन भएको छ । सोही समयमा ३ हजार ४ सय ८८ ग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको छ भने १ हजार २ सय १३.१९९ केजी गाँजा बरामद भएको छ ।

मनोद्विपक क्याप्सुल ५३ हजार १ सय ११ ट्याब्लेट बरामद भएको छ । मनोद्विपक सुई ८ हजार १ सय ४२ एम्पुल बरामद भएको छ । अन्य विभिन्न किसिमका मनोद्विपक औषधिहरू ३ हजार ८९ ट्याब्लेट बरामद भएको छ । 

२ हजार ४२९.९६ रोपनीमा लगाएको गाँजा खेती फँडानी गरी ८ लाख ७७ हजार ४१ गाँजाका बोट नष्ट गरिएको छ । यस्तै प्रहरीले अवैधरूपमा सामान चोरी निकासी गर्ने १ सय ५० जनालाई पक्राउ गरी १८ करोड ७९ लाख ८ हजार ६९ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

नदीजन्य पदार्थको अवैध दोहन गर्ने १ सय ४१ जना मानिस र ७ सय ६ वटा नदीजन्य पदार्थ उत्खनन् गर्ने र ओसार–पसार गर्ने सवारी साधनलाई नियन्त्रणमा लिई ५५ लाख १८ हजार २ सय २० रुपैयाँ राजश्व सङ्कलन गरिएको छ । 

अवैध काठ चोरी निकासी गर्ने ५५ जना मानिस पक्राउ गरी ३००१.१२ क्यु.फिट काठ बरामद गरी ५० लाख ६ हजार ७ सय १६ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।