धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा करेण्ट लागेर शनिबार दिउँसो एक जनाको मृत्यु भएको छ ।
मोबाइल चार्ज गर्ने क्रममा विद्युत् लाइनमा हाइभोल्टेज हुँदा करेण्ट लागेर चानुवाका चन्द्रबहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको हो । करेण्ट लागेर अन्य १५ जना घाइते भएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए । टिभीको प्लग जोड्ने तथा मोबाइल चार्ज गर्ने क्रममा करेण्ट लागेर उनीहरू घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ५५ वर्षीया बमकुमारी श्रेष्ठ, ६१ वर्षीया पदमकुमारी श्रेष्ठ, ९ वर्षीया सावित्रा निरौला र ६ वर्षीया लाजिहाङ जिमीलाई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
यस्तै २० वर्षीया रमा रोक्का, ४२ वर्षीया लीलादेवी भण्डारी, ६० वर्षीया मोतीमाया जिमी, १८ वर्षीया सम्झना लिम्बू र २३ वर्षीया तारा कटुवाललाई पनि थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
घाइते अन्य ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । चानुवा क्षेत्रमा केही दिनदेखि विद्युत् नभएको र विद्युत् आउनासाथ विद्युतीय सामग्री चार्ज गर्ने क्रममा धेरैलाई करेण्ट लागेको स्थानीयले बताएका छन् ।
हाइभोल्टेजमा विद्युत् प्रवाह हुँदा धेरैका घरमा मोबाइल, टिभी जलेका छन् । त्यो ठाउँमा कसरी हाइभोल्टेज विद्युत् प्रवाह भयो भन्ने विषयमा अनुसन्धान भइरहेको विद्युत् प्राधिकरण धनकुटाका प्रमुख दीपक सापकोटाले जानकारी दिएका छन् ।