भण्टाबारी / सरुवा भइसकेका प्रमुख प्रशासकीय अधिकृतको सरुवा रद्द गर्न जनप्रतिनिधिले चलखेल गरिरहेको भोक्राहा नरसिंह गाउँपालिकाका स्थानीयले गुनासो गरेका छन् ।
भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका रामचरित्र मेहताको सरुवा भए पनि उनको सरुवा रोक्न र नयाँ अधिकृतलाई आउन नदिन जनप्रतिनिधि लागिपरेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको यही चैत १८ गतेको पत्रअनुसार भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका मेहताको सरुवा भइसकेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रानुसार स्थानीय तह कर्मचारी प्रशासन शाखा कर्मचारी समायोजन ऐन २०७५ को दफा ९ को उपदफा (९) बमोजिम अर्को व्यवस्था नभएसम्मको लागि मेहतालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत प्रदेश नम्बर १ मा कामकाजका लागि खटाइएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत टेकराज आचार्यद्वारा हस्ताक्षर गरिएको पत्रअनुसार मेहताको स्थानमा भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रूपमा पुरुषोत्तम घिमिरे आउनुपर्ने हो । तर, उनलाई आउन नदिन भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव, उपाध्यक्ष पुनमकुमारी मेहतालगायतका जनप्रतिनिधिले चलखेल गरिरहेका छन् ।
मेहता हुँदा वर्तमान जनप्रतिनिधिलाई अनियमितता गर्न सहज हुने भएकाले उनको सरुवा रोक्न जनप्रतिनिधिले चलखेल गरिरहेको भोक्राहा नरसिंह गाउँपालिका–६ का खुर्सिद अन्सारीले बताए । रामचरित्र मेहता प्रमुख प्रशासकीय अधिकृतका रूपमा भोक्राहा नरसिंह गाउँपालिकामा रहँदा भ्रष्टाचार बढेको आरोप लगाउँदै वडानम्बर ५ का किसन उराँवले सेटिङ गर्न सजिलो हुने भएकोले सरुवा भइसकेका व्यक्तिलाई समेत रोक्न राजनीतिक दबाव दिनुका साथै आर्थिक चलखेल भइरहेको गुनासो गरे ।
गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव भने गाउँपालिकामा ठूला योजना सञ्चालन भइरहेको र नयाँ आउने अधिकृत अल्मलिने भएकाले पुरानै राख्नुपर्ने अवस्था आएको बताउँछन् । उनले भने, ‘बहुवर्षीय योजनाहरूमा काम भइरहेको छ । त्यसैले पुरानै अधिकृत रहने हुनुभयो । अरू त्यस्तो केही छैन ।’