धनकुटा । धनकुटा जिल्ला सदरमुकाम नजिक रहेको एक सामुदायिक वनमा शुक्रबार पुन: डढेलो लागेकाे छ । 

धनकुटा नगरपालिका वडा नं.६ र ४ को सिमनामा रहेको सिलढुंगा सामुदायिक वनमा बिहानदेखी लागेको डढेलो दिउँसो केहि बेर अनियन्त्रित भएको डढेलो अपरान्हपछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगो निभाउन धनकुटा नगरपालिकाको दुई वटा दमकल सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सहित स्थानीयबासी खटिएका छन् । अत्याधिक हावा चलेकाले डढेलो तत्काल नियन्त्रणमा आउन नसकिएको प्रहरीले जनाएको छ । 

डढेलोस्थल नजिकै भाषा माध्यमिक विद्यालय र वस्ति रहेको भएपनि जोखिम नभएको प्रहरीको भनाई छ । अत्यधिक हावा चलेका कारण आगो नियन्त्रणमा समस्या रहेको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए ।

आगो पूर्ण नियन्त्रण नआउन्जेल दमकल र अग्नी नियन्त्रक जनशक्ति घटनास्थलमा राखिने उनले बताए । कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा रहेकोले उक्त स्थानमा दिउ“सो केहि बेर यातायात  समेत अवरुद्ध भएको थियो । सडक नजिक आगो नियन्त्रणमा आएसंगै यातायात सुचारु भएको छ । 

धनकुटामा विगत २ सातादेखि ४० बढी सामुदायिक वनमा लागेको डढेलोका कारण ५ सय हेक्टर क्षेत्रफलको वनस्पती नष्ट भएको वन डिभिजन कार्यालयले जनाएको छ । यस्तै, वनमा लागेको डढेलो वस्तिमा सल्कदा हालसम्म चार घर जलेर क्षति भएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए ।

प्रजिअ दाहालले सुख्खा मौसमको वेलामा वन जंगलमा डढेलोको कारण जोखिमयुक्त ठहरिएको सम्भावित स्थानहरुमा फायर लाईन वनाउने कार्यलाई तिव्रता दिइएको वताएका छन् । उनले नगर क्षेत्रको हरेक वडामा १ लाख लिटर पानी जम्मा गर्न सकिने ठूला ठूला पानीका ट्याङ्गकी निर्माण गर्ने तयारी भैरहेको बताए ।

सुख्खा याममा धनकुटा वजारमा खानेपानीको चरम अभाव हुने भएकाले लिफ्टिङ प्रविधिलाई थप व्यवस्थित् पार्ने लगायतका तयारीका विषयमा स्थानिय सरकारहरुसंग आवश्याक समन्वय भैरहेको प्रीजअ दाहालले जानकारी दिएका छन् ।