विजयपुर। नेपाल पत्रकार महासङ्घको निर्वाचनमा प्रदेश १ को त्रिपक्षीय गठबन्धनको प्यानल नै निर्वाचित भएको छ ।

नेपाली काङ्ग्रेसनिकट प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस सेण्टर र एमाले निकट माधव नेपाल पक्ष प्रेस चौतारी संयुक्त गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए । संयुक्त गठबन्धनका अध्यक्ष लीलावल्लभ घिमिरेसहित प्यानल निर्वाचित भएको हो ।

अध्यक्ष घिमिरेले ७ सय ९३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी ओली पक्ष चौतारीका मोहनकाजी न्यौपानेले ५ सय ९७ मत प्राप्त गरेका छन् । न्यौपानेलाई १ सय ९६ मतान्तरले पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन् । संयुक्त गठबन्धनका बागी  उम्मेदवार सोमनाथ सुसेलीले ४१ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा संयुक्त गठबन्धनका लवदेव ढुङ्गानाले ८ सय १० मत पाई विजयी भएका छन् । उनका निकटतम प्रतिपस्र्धी मोहनकाजी प्यानलका उम्मेदवार रोहितकुमार राईले ५ सय ५७ मत प्राप्त गरेका छन् । महिला उपाध्यक्ष हिमादेवी चेम्जोङ ८ सय २६ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी कोकिला ढकालले ५ सय ७८ मत प्राप्त गरेकी छन् ।

महासचिवमा विवेक गौतम ८ सय १९ मत प्राप्त गरी निर्वाचित भए भने प्रतिस्पर्धी फिफराज वेघाले ५ सय ६२ मत प्राप्त गरेका छन् ।

सचिवमा देवेन्द्र कार्की ८ सय ६२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी अविजाल विष्टले ५ सय १३ मत प्राप्त गरेका छन् । कार्की ३ सय ४९ मतान्तर रहेको छ । उनले प्रदेशमा सबैभन्दा मत निर्वाचित भएका हुन् ।

समावेशी सह–सचिवमा सन्तोष यादव ७ सय ६१ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी सन्तवीर लामाले ६ सय २६ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा विमल लामिछाने ८ सय ६ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी सन्तोष रुचालले ५ सय ७२ मत प्राप्त गरेका छन् ।

खुल्ला सदस्यमा झापाका सुरेन्द्र भण्डारी ८ सय २९ प्राप्त गरी निर्वाचित भएका छन् ।  लीलाराज झापाली ८ सय १७, ध्रुव भट्टराई ८ सय ४, तोयानाथ भट्टराई ७ सय ३९ र गोपालप्रसाद पोखरेलले ७ सय २५ मत प्राप्त गर्दै विजयी बनेका छन् ।

महिला सदस्यमा विनु तिम्सिना ८ सय ३८, माला पालुङ्वा ७ सय ९० र सुशीला पाठक ८ सय ४२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । दलित सदस्यमा पिवी दियाली ८ सय २४ मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रणध्वज लोहारलाई ३ सय ९७ पछि पार्दै निर्वाचित भएका हुन् ।

जनजाति सदस्यमा विष्णु सुब्बा ८ सय ३७, यमकुमार दनुवार ६ सय ७१ मत प्राप्त गरी निर्वाचित भएका छन् । मधेशी सदस्यमा प्रमोदकुमार यादवले ७ सय ९३, ब्रम्हदेव यादव ६ सय ७० मत प्राप्त गरी निर्वाचित भए । अल्पसङ्ख्यक सदस्यमा लीलाबहादुर सुनुवार ६ सय ५५ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

पत्रकार महासङ्घ जिल्ला शाखाका निर्वाचनको प्राप्त भएको नतिजाअनुसार इलाममा त्रिपक्षीय गठबन्धन नै निर्वाचित भएको छ । भोजपुरमा पनि गठबन्धनको प्यानल नै निर्वाचित भएको छ । साथै अन्य जिल्लाहरूमा पनि प्यानल नै निर्वाचित भएको कार्यालयले जनाएको छ ।